आजबाट डोले राजवंशी आफ्नै घरमा बस्न पाए
Published:
by .बिर्तामोड । किरण राजवंशीले जग्गा उपलब्ध गराएपछि स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको डोले आवास आज एक कार्यक्रमकाबीच डोले राजवंशीलाई हस्तान्तरण गरिएको छ ।
गत २५ पुषदेखि निर्माण शुरु गरिएको तीन कोठे घर तयार भएपछि आज आइतबार डोले राजवंशी आमाछोरालाई हस्तान्तरण गरिएको हो ।
बिर्तामोड नगरपालिका ९ डोले चोकमा बस्दै आएका डोले आफ्नो उमेरको ५०औं बसन्त घर विहीन भएर बिताएका थिए । घर हस्तान्तरण भएसँगै डोलेका आमाछोरा अब नयाँ घरमा बस्न पाउने भएका छन् ।
८० वर्षीय बुढी आमाका साथ बस्तै आएका डोले जन्मँदै अपाङ्ग भएकाले राम्रोसँग हिंडडुल गर्न र बोल्न पनि सक्दैनन् । उनकी आमा सुकसरी राजवंशीको पनि मानसिक सन्तुलन ठीक छैन । एक्लै बरबराउँदै बोल्ने सुकसरी पनि नयाँ घरमा बस्न पाउने भएपछि हर्षित भएको देखिन्थिन् । उनले अपाङ्ग छोरा डोलेलाई बनिबुतो गरेर ज्यान बचाउँदै आएको बताइन्छ ।
वषौंदेखि फुसको टाटी बेरा लगाएर बनाएको घरमा बस्दै आएका डोलेले कस्टकर जीवन बिताइरहेका थिए । बिर्तामोड ९ का युवा प्रकाश बुढाथोकीको अध्यक्षतामा डोले आवास निर्माण समिति बनेपछि स्वतः स्फूर्त सहयोग रकम जुटेपछि घर तयार गरिएको हो । डोले आवास नाम दिइएको उक्त घर निर्माणका लागि थुप्रै सहयोगी दाताहरुले आर्थिक, जिन्सीलगायत सहयोग गरेको निर्माण समितिका सचिव प्रदिप संग्रौलाले जानकारी दिएका छन् ।
डोले आवास हस्तान्तरण गर्न आज घर परिसरमा नै कार्यक्रम आयोजना गरिएको थियो । प्रतिनिधि सभाका सदस्य पवित्रा निरौला खरेलले रिबन काटेर डोलेलाई घर प्रवेश गराएकी थिइन् । घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य निरौलाले युवाको सक्रियतामा डोले आवास निर्माण भई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । युवा अग्रसर भए भने असम्भव भन्ने केही हुँदैन भन्दै सांसद खरेलले सरकारले मात्र सबै काम गर्न नसक्ने भएकाले युवाले स्वतः स्फूर्त समाज परिवर्तन गर्न लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले डोलेको दयनीय अवस्था देखेर युवाले घर बनाइदिएर महत्वपूर्ण काम गरेको प्रतिक्रिया दिइन् । सो अवसरमा बिर्तामोड वडा नं. ९ का अध्यक्ष पवित्रा पाठक, २ नं वडा सदस्य किशोर पौडेल, नेपाली कांग्रेसका भोला पौडेल, राप्रपाका रञ्जु प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टीका मोहन सुब्वा, प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम, घर निर्माण समितिका सदस्य सरोज पौडेललगायतले डोलेको पारिवारिक अवस्था र घर निर्माणबारे आ–आफ्नो धारणा राखेका थिए ।
समितिका सदस्य एवम् आर्थिक विभागका प्रमुख पौडेलले घर निर्माणमा सहयोग गर्ने दाताहरुको विवरण प्रस्तुत गरेका थिए । घर निर्माणका लागि स्वदेश तथा विदेशबाट पनि रकम प्राप्त भएको निर्माण समितिले जनाएको छ । घर हस्तान्तरण कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले सिरक डसना प्रदान गरेका थिए ।
Comments