बिर्तामोड ९ का महिलालाई स्वालम्वन तालिम सुरु
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ ।
नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड ९ का ५० जना महिलाको सहभागिता रहेको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले तालिमका प्रशिक्षक प्रनिता भण्डारीलाई सामग्री प्रदान गरेर तालिमको उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै उपप्रमुख प्रसाईले महिलाहरुलाई हिनताबोध त्यागेर अघि बढ्न आग्रह गरिन् ।
महिलाले चाहेको खण्डमा पुरुषसरह जे पनि गर्नसक्छन् भन्दै उपप्रमुख प्रसाईंले महिलाले घर व्यवहारमा मात्र नअल्झिई बाहिर निस्कन सके महिला सशक्तिकरणको अभियानले चाँडै सार्थकता पाउने बताइन् । १० दिनसम्म सिकेको सीप व्यवहारमा उतार्न सके महिलाले पुरुषका अघि हात पसार्न नपर्ने पनि उप–प्रमुख प्रसाईंले बताइन् ।
उद्घाटन कार्यक्रममा नेकपाका बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईले तनमन लगाएर सीप सिके महिलाहरु आत्मनिर्भर बन्न बेर नलाग्ने धारणा व्यक्त गरे । सिकेको सीपलाई व्यवहारमा उतार्दै स्थानीय उत्पादनको बजारीकरण गर्नतर्फ लाग्न प्रसाईले सहभागीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपाका बिर्तामोड नगर कमिटी सचिव मोहन सुव्वा, वडा नं ९ का वडाध्यक्ष पवित्रा पाठक, वडा सदस्य हरि चौंलागाई, नेपाली कांग्रेसका नेता भोला पौडेललगायतले मन्तव्य राख्दै तालिम फलदायी बनाउन आग्रह गरेका थिए ।
तालिम उद्घाटन समारोहमा राप्रपाका बिर्तामोड नगर उपाध्यक्ष प्रकाश बुढाथोकीले रोजगारमुलक तालिम गाउँगाउँमा पुर्याउन वडा कार्यालयलाई सुझाव दिँदै यस्ता रचनात्मक कार्यक्रमको सम्पादन गर्न आफ्नोतर्फबाट जस्तोसुकै सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
तालिममा खेलौना, फेब्रिकको माला, कुसनलगायतका सामग्रीहरु बनाइने जानकारी दिइएको छ ।
नवदुर्गा युवा क्लवका तर्फबाट सरोज पौडेलले तालिम सञ्चालनको औचित्यबारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन क्लवका अध्यक्ष प्रदिप संग्रौलाले गरेका थिए । वडासदस्य संगीता शिवाले स्वागत गरेको तालिम उद्घाटन समारोहको अध्यक्षता टंकमाया मगरले गरेकी थिइन् ।
Comments