नेकपा मेचीनगरको एकता घोषणा सभा तथा सपथग्रहण सम्पन्न
Published:
by .मेचीनगर । तात्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच ९ र ६ पालिकामा भगवण्डा मिलेपछि नगर तथा गाउँ कमिटीहरु गठन भएका छन् । नवगठित मेचीनगर कमिटी र १५ वटै वडा कमिटीका पदाधिकारीहरुलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसद राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी एकता सहजीकरण संयन्त्र कार्यदल मेचीनगरका सदस्य राजु आचार्यले एकीकृत नगर तथा वडा कमिटीका पदाधिकारीहरुको नामसहित नगरमा पार्टी एकताको घोषणा गरेका थिए ।
नगर कमिटीको अध्यक्षमा तात्कालिन माओवादी केन्द्रका माधवलाल अर्याल र सचिवमा तात्कालिन एमालेका खेमराज पोखरेल चयन भएका थिए । नगर कमिटी ८१ सदस्यीय रहेको छ भने १५ वटै वडा कमिटीहरु २९ सदस्यीय रहेको नगर अध्यक्ष माधवलाल अर्यालले बताए ।
पार्टी एकता सहजीकरण संयन्त्र कार्यदल मेचीनगरले आयोजना गरेको मेचीनगर नगरकमिटी तथा वडा कमिटीहरुको एकता घोषणासभा एवम् सपथ ग्रहण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रविन कोइरालाले नगर तथा वडा कमिटीका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
कार्यक्रम १ नम्बर प्रदेश कमिटी सदस्य तथा पार्टी एकता सहजीकरण संयन्त्र कार्यदल मेचीनगरका सदस्य श्यामविर लिम्बूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले हिजो नेकपा प्रतिपक्षमा रहँदा अत्यन्तै रचनात्मक र इमान्दार प्रतिपक्षको भूमिका निर्वाह गर्दै नेपाली जनताका हक अधिकार माग गरिरहेको बताए ।
कार्यदलका सदस्य देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सांसद तथा नेकपाका केन्द्रीय सदस्य कार्की, नेताहरु नरेश खरेल, देवेन्द्र दाहाललगायतले बोलेका थिए ।
Comments