दमकका घाइते मजदूरको उपचारमा आर्थिक अभाव
Published:
by .दमक । दमक नगरपालिका वडा नं. ४ साविक वडा नं ९ चियाबगानमा मोटरसाइकल दूर्घट्नामा परी घाइते भएका एक मजदूर युवाको उपचारमा आर्थिक अभाव हुँदा समस्या भएको छ ।
चिया बगानमा कार्यरत मजदूर टेकबहादुर सुनुवारका २२ वर्षीय छोरा ब्रिजेश सुनुवारको उपचारमा समस्या भएको हो । विपरित दिशाबाट आइरहेको एक मोटरसाइकलले सुनुवारले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा सो दूर्घटना भएको थियो ।
दूर्घटना लगत्तै दमकको एक अस्पताल पुर्याइए पनि उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएका ती युवकको उपचारमा आर्थिक समस्या देखेपछि विभिन्न कारण देखाउँदै न्यूरो अस्पतालले गोल्डेन अस्पताल विराटनगर पठाएको थियो । ‘पैसा नभएको थाहा पाएर नै न्यूरोले गोल्डेनमा पठाइदियो’ घाइते ब्रिजेशका दाजु राजु सुनुवारले भने ।
उनको उपचारका क्रममा आफूहरुले भएभरको जायजेथा बिक्री गरी आफन्त, मजदूर साथीहरु सबैसँग सहयोग जुटाएर चार लाख रुपैयाँ खर्च गरिसकेको सुनुवारले बताए । उनको उपचारका लागि मजदूरहरुले चिया बगानबाट मात्रै ५५ हजार रुपैयाँ सहयोग गरिसकेको बताइएको छ ।
पीडित परिवारका अनुसार ब्रिजेशको उपचारका क्रममा टाउको र खुट्टाको शल्यक्रिया भइसकेको छ । शल्यक्रिया पश्चात सामान्य अवस्थामा फर्किंदै गरेका उनका लागि थप उपचार आवश्यक रहेको पीडित परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै जनाएका छन् ।
घाइतेका दाजु राजुले भने ‘उपचारमा अझै ४–५ लाख रुपैयाँ जुटाउन सके भाइको सफल उपचार हुने जानकारी पाएका छौं तर त्यति रकम जुटाउने परिवारको आर्थिक अवस्था छैन । कोही सहयोगी हातहरुबाट सहयोग जुट्न सके भाइले पुनःजीवन पाउन सक्ने थियो ।’
Comments