झापामा ६२औं सहकारी दिवस सभ्य र भब्य
Published:
by .शिवसताक्षी । झापाको सहकारी अभियानका १०औं हजार अभियन्ताको उपस्थितिका बीच आज ६२औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
शिवसताक्षीको दूधेमा विभिन्न सहकारी संस्थाहरुले निकालेको र्याली पछि भएको सहकारी दिवस समारोहको समुद्घाटन १ नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले गरेकी थिइन् ।
समारोहको समुद्घाटन पछि मन्तब्य राख्दै प्रदेश १ का उपसभामुख पोखरेलले महिला सशक्तिकरणको लागि सहकारी अभियान सबैभन्दा राम्रो औजार भएको बताइन् । सहकारीमा ५० प्रतिशतभन्दा बढी महिला सहभागिताले महिला सशक्तिमरणमा बल पुगेको उनको भनाई थियो ।
नेपालको संविधानमा नै सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरिनु महत्वपूर्ण उपलब्धी भएको बताउँदै प्रदेश १ का उपसभामुख पोखरेलले सहकारीमार्फत् उत्पादनको क्षेत्रमा लागेर गरिबी न्यूनीकरण सम्भव हुने सुझाव दिइन् ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा दशौं हजार सहकारीकर्मीको उपस्थितिमा सम्पन्न ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीका महिला सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै क्यानसर विरुद्ध सचेतना अभियान तथा निःशुल्क चेकजाँच क्याम्प सञ्चालन गरिएको थियो ।
क्यान्सर विरुद्धको सचेतना अभियानमा लागेकी डा. सन्ध्या त्रिपाठी र अभियानका सद्भावना दूत पूर्व मिस नेपाल सुगारिका केसीले मन्तब्यमार्फत् क्यान्सर चेतना जागृत गरेका थिए ।
यसपटकको सहकारी दिवसमा झापाको सहकारी अभियानका आगामी दिशा उद्यमशिलता नै हो भन्ने निश्कर्षस्वरुप सहकारीका उत्पादनलाई प्रोत्साहन गर्न २० वटा स्टल राखिएको थियो । छिमेकी जिल्लाहरु इलाम, पाँचथर र मोरङ जिल्लाका सहकारी संघ–संस्थाहरुबाट पनि आफ्ना उत्पादनहरु स्टलमा राखिएका थिए ।
सहकारी दिवसका अवसरमा आज ६ वटा सहकारी संस्थाहरु, ६ जना सहकारी अभियन्ताहरु, एकजना पत्रकार र एउटा सञ्चार संस्थालाई पुरस्कृत र सम्मानित गरिएको छ ।
विगतमा जस्तै योवर्ष पनि सहकारी अभियानको उन्नयन र प्रवद्र्धनमा क्रियाशील उत्कृष्टहरुलाई छानेर सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
यसवर्ष उत्कृष्ट सहकारी व्यक्तित्व सम्मान तथा नगद पुरस्कार पुरुषतर्फ हरिचरण बानियाँ र महिलातर्फ भोजकुमारी नेपाललाई प्रदान गरिएको छ । बानियाँ संघका पूर्व अध्यक्ष हुन् भने शिवसताक्षी नगरपालिकाका उपप्रमुखसमेत रहेकी नेपाल संघका पूर्व सञ्चालक हुन् ।
यसरी नै उत्कृष्ट सहकारी सञ्चालक पुरुषतर्फ संजीवनी साकोस बिर्तामोडका अध्यक्ष यामकुमार चुँडाल र महिलातर्फ न्यू पशुपति साकोस बुद्धशान्तिका अध्यक्ष खिनमाया बाँस्तोला खतिवडा पुरस्कृत र सम्मानित भएका छन् ।
सहकारी कर्मचारीलाई प्रदान गरिने उत्कृष्ट व्यवस्थापकको पुरस्कार पुरुषतर्फ नवोदय बहुउद्देश्यीय सहकारी केरखाका फडिन्द्रबहादुर कार्की र महिलातर्फ भानु बहुमुखी सहकारी संस्था मेचीनगरका चन्दा सिटौला पुरस्कृत एवम् सम्मानित भएका छन् ।
यो वर्ष सहकारी पत्रकारिता पुरस्कार दमकबाट प्रकाशन गरिने पूर्वसन्देश दैनिकका सम्पादक गञ्जबहादुर दाहाललाई प्रदान गरिएको छ । यसैगरी, उत्कृष्ट सञ्चार गृहका रुपमा मेचीनगरबाट प्रकाशन हुने लोकतन्त्र पोष्टलाई पुरस्कृत गरिएको छ । लोकतन्त्र पोष्टको सम्मान र पुरस्कार सहसम्पादक झुलन रेग्मीले ग्रहण गरेका थिए ।
यो वर्ष जिल्लामा सञ्चालित ९०० भन्दा बढी सहकारीहरुमध्ये उत्कृष्ट सहकारी संस्थाका रुपमा दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर, धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड र कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर पुरस्कृत भएका छन् ।
यसैगरी, श्रद्धा कृषि सहकारी संस्था अर्जुनधारा, चौतारी बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी र जुरोपानी साना किसान कृषि सहकारी संस्था गौरादहले वर्ष उत्कृष्ट सहकारीको सम्मान र पुरस्कार पाएका छन् ।
जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र सहसचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको सहकारी दिवस समारोहमा आमन्त्रित पाहुना तथा सहभागीहरुलाई उपाध्यक्ष गीता कुँवरले स्वागत गरेकी थिइन् ।
समारोहमा सहकारीको माध्यमबाट उत्पादन र बजारीकरणमा लागेका संस्थाहरुबारे साझामञ्चले तयार गरेको १५ मिनेटको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।
Comments