Sajhamanch Archive

आदिवासी महोत्सवको आकर्षणमा जातीय पहिचानका खाद्यवस्तु तथा भेषभुषा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्यसहित महोत्सव सुरू गरेको छ ।

प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव २०७५ नाम दिएर आयोजना गरेको महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुनेगरी सुरू गरेको हो । महोत्सवको अवसरमा विविध जातीय पहिचानसहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर आदिवासी झापासमेत सञ्चालन भइरहेको छ ।

भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस अगाडिको चौरमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक साँगीतिक प्रस्तुति दिइरहेका छन् । महासंघमा आवद्ध १४ जातिका जातीय पहिचान झल्कने खाद्य परिकार, भेषभुषासहितको स्टल पनि महोत्सवमा राखिएको छ ।

३५ वटा स्टल रहेको महोत्सवमा राजवंशी, गनगाई, सुनुवार, मेचे, सन्थाल, थारू, याख्खा, गुरूङ, मगर, तामाङ र भुजेल जातिले मौलिक पहिचानसहितका खाद्यवस्तु र भेषभुषाका स्टल राखेका छन् । महोत्सवलाई आकर्षक बनाउन राष्ट्रिय कलाकारको टोलीले प्रत्येक साँझ नेपाली साँगीतिक प्रस्तुति दिइरहेको आयोजक समितिका सदस्य रीता मुखियाले जानकारी दिइन् ।

महोत्सव सचिवालय सदस्य राजेन्द्र सुनुवारका अनुसार देशकै पुरानो भद्रपुर नगरपालिकाको व्यापारिक चहलपहलका लागि महोत्सव फलदायी हुनेछ । २२ लाख खर्च अनुमान गरिएको महोत्सवबाट २५ लाख आम्दानीको पनि अनुमान गरिएको उनले बताए ।

संयोजक सन्तोष राजवंशीका अनुसार सो महोत्सवले आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति, भेषभुषा, खानपान र बाजागाजाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने छ । यसैगरी मिस एण्ड मिस्टर आदिवासी प्रतियोगिताले आदिवासी जनजाति युवा युवतीमा कलात्मक क्षमता विकास हुने तथा व्यक्तित्व विकासमा योगदान पुग्ने अपेक्षा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *