Sajhamanch Archive

क्यानडालाई नेपाली आँप र कतारलाई स्याउ खुवाउन सक्छौ : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो अंकको आर्थिक वृद्धि भनेको एक र शून्य मात्र नभएको बताएका छन् । नेपालले १० भन्दा बढी अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउँदै ओलीले १० अंक सरकारको लक्ष्यको सबैभन्दा तल्लो छेउ भएको प्रष्ट पारे ।

नेपाल उद्योग परिसंघको १६ औं वाािर्षक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै ओलीले भने, “विगतमा कतिपय देशले धीमा गतिको प्रगति गरे किनकी उनीहरुसँग प्रविधि थिएन, प्रविधिको विकास पनि आफैंले गर्नुपर्यो । आज हामीसँग प्रविधि छ, त्यसैले धीमा विकास गर्ने छुट हामीलाई छैन । विगतको गति कम भयो भनेर अहिले कम्प्लेन गर्न पनि पाइँदैन ।”

सरकारको तर्फबाट उद्योग विकास र प्रवद्र्धनमा जे गर्नुपर्ने हो, त्यो गर्न सरकार तयार रहेको प्रतिबद्धता ओलीले व्यक्त गरे । “तर त्यसले रोजगारी सिर्जना गर्नुपर्यो, उत्पादकत्व बढाउनुपर्यो र आयात घटाउनुपर्यो,” ओलीको सर्त छ ।

कृषि पेशा निर्वाहमुखी भएका कारण उत्पादकत्व बढ्न नसकेको भन्दै ओलीले निर्वाहमुखी कृषिमा अलमलिएका दुईतिहाइ जनतालाई व्यावसायिक कृषक बनाउनुपर्नेमा जोड दिए । “व्यवसायी पनि अब व्यावसायिक कृषिमा लाग्नुपर्छ, कृषिलाई व्यावसायकिरण गर्नुपर्छ । यसमा नोक्सान छँदैछैन, उद्योगमा भन्दा बढी नाफा कृषि व्यवसायमा छ,” उनले भने, “हामी क्यानडालाई आँप खुवाउन सक्छौं, कतारलाई स्याउ खुवाउन सक्छौं । अरु देशले यस्तो गर्न सक्दैनन् ।”

आफूले सानैदेखि पानी बेचे पैसा आउँछ भनेर सुनेको तर बूढो भइसक्दा पनि पानी बेच्न नसकिएको बताए । “पानी बेच्न सकिन्छ भनेर सुनियो मात्रै, पानी बगेको बग्यै छ, बेच्न सकिएन,” उनले भने ।

व्यवसायीलाई सहजीकरण गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले ओलीले भने, “उत्पादकत्व बढाउन जस्तो नीतिगत परिवर्तन गर्न जरुरी छ, भन्नुस् । कुन दफा, कुन व्यवस्था परिवर्तन गनुपर्ने हो, तोकेर भन्नुस् । ब्लाक एन्ड ह्वाइटमा गोलमटोल कुरा नगर्नुस् ।”

अर्थमन्त्री डा। युवराज खतिवडाले पनि निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउन सरकार जे गर्नुपर्छ, गर्न तयार रहेको बताए । “निर्यातबिना दोहोरो आर्थिक वृद्धि कठिन छ । तत्कालका लागि सेवा र दिर्घकालमा वस्तु र सेवा दुवै निर्यात गर्न सकिन्छ । त्यसैले अब दोहोरो अंकको आर्थिक वृद्धि गाह्रो छैन,” उनले भने ।

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा अहिलेसम्म नेतृत्व र भिजनको अभाव थियो भन्दै अहिले अभिभावक पाएको भनेर ओलीको प्रशंसा गरे ।

परिसंघका संस्थापक अध्यक्ष तथा सांसद विनोद चौधरीले विकासका लागि नीति हैन, नैतिकताको खडेरी भएको टिप्पणी गरे । कृषिलाई औद्योगिकरण गर्ने लय देखिएको र सरकारलाई निजी क्षेत्रको साथ रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *