Sajhamanch Archive

९० अर्बमा ५ खानेपानी आयोजना बन्दै, ६० लाख लाभान्वित हुने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानीका थप आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।

मन्त्री मगरले नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी हुन् ।

मन्त्रालयले खानेपानीका यी ५ ठूला आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ । मुलुकमा बढ्दै गएको खानेपानी आवश्यकता पूरा गर्न मन्त्रालयले यी आयोजनालाई प्राथमिकतामा राखेको हो ।

कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर पूर्व, चितवन, बारा, पर्साका करिब ४० लाख जनसंख्या लाभान्वित हुने गरी नारायणी नदी थोक वितरण खानेपानी आयोजना निर्माण गर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक अध्ययनअनुसार यस आयोजनाको लागत ६० अर्ब लाग्ने अनुमान गरिएको छ ।

यस आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ ।
यस्तै करिब २ अर्ब लागतमा दाङको पातुखोला जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्ने सरकारको योजना छ ।

मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट आयोजना सम्पन्न भएपछि दाङ क्षेत्रका करिब १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन् ।

मन्त्रालयले तेस्रो आयोजनाअन्तर्गत करिब ३ अर्बको लागतमा भेरी–सुर्खेत उपत्यका पम्पिङ खानेपानी आयोजना निर्माण गर्दैछ । यस आयोजनाको डीपीआर तयार भइसकेको छ ।

आयोजना सञ्चालन भएपछि सुर्खेतका करिब १ लाख ६५ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ । त्यस्तै बाँके र बर्दियाका करिब १३ लाख जनसंख्या लाभान्वित हुने गरी मन्त्रालयले कर्णाली बबई थोक वितरण खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको मन्त्रालयले बताएको छ ।

यो आयोजनाको लागत २१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

चीनका ठूला कम्पनीहरु मध्ये चाइना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन सिएमइसी ले नेपालको खानेपानीको क्षेत्रमा पहिलो प्राथमिकता दिएर लगानी जुटाउने प्रस्ताव पेश गरपछि यी ठूला आयोजना निर्माण सहज हुने मन्त्रालयले बताएको छ ।

सीएमइसीले पेश गरेको प्रस्तावमा खानेपानीका यी पाँच ठूला आयोजनाहरुमा चाइना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ ।

सम्भाव्यता अध्ययन भइसकेका पाँच आयोजनाहरुको लागत ९० अर्ब लाग्ने अनुमान गरिएको छ ।

पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

१२ खरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *