मेची पूल निर्माणः विस्थापित सूचीका चार परिवारलाई एक करोड १७ लाख मुआवजा प्रदान
Published:
by .मेचीनगर । मेची नदीमा बनाइँदै गरेको नयाँ पूलका कारण भोगचलन गरिरहेको जमिन नासिएपछि विस्थापितको सूचीमा परेकाहरुमध्ये चार घर परिवारलाई मंगलबार मुआवजा वापतको रकम प्रदान गरिएको छ । मेचीनगर नगरपालिकाको मुआवजा निर्धारण समितिको निर्णयानुसार निर्धारित रकम चार घर परिवारलाई प्रदान गरिएको हो ।
निर्धारित रकम एक करोड १७ लाख २० हजार रुपैयाँमध्ये दुई लाख ९३ हजार रुपैयाँ मालपोत कार्यालयको पूँजीगत लाभकर कट्टी गरेर एक करोड १४ लाख २७ हजार रुपैयाँ प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गका अनुसार बालकृष्ण अधिकारी, रामकुमार लिम्बू, भुपध्वज दाहाल र नेत्रप्रसाद उप्रेतीलाई मुआवजा प्रदान गरिएको हो । नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उपे्रती, वडाध्यक्षहरु ललितबहादुर तामाङ, नवीन बराल, सुदय पनेरुसहित जनप्रतिनिधिको उपस्थितिमा मुआवजा प्रदान गरिएको हो ।
मुआवजा वापत अधिकारीले १२ लाख ५७ हजार ७५०, लिम्बूले १२ लाख ५७ हजार ७५०, दाहालले २५ लाख १५ हजार ५०० तथा उप्रेतीले ६३ लाख ९६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मुआवजा वितरण कार्यक्रममा बोल्दैं नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती र सडक विभागका डिभिजन इञ्जिनियर यादवले विकास निर्माणका काम स्थानीयबासीले देखाएको सहयोग सदभावको खुलेरै प्रशंसा गरेका छन् ।
Comments