Sajhamanch Archive

राजनीतिक परिवर्तनमा श्रमजीवी वर्गले पुर्याएको योगदानप्रति प्रधानमन्त्रीद्वारा उच्च सम्मान

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् ।

मे १ तारिकको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मे १ लाई गौरवमय दिनको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा गौरवमय यस दिनको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमजीवी वर्गमा शुभकामना प्रकट गरेका छन् ।

नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदूर वर्गले गरेको योगदानको उच्च सम्मान गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “राजनीतिक–सामाजिक परिवर्तनको ध्येयका साथ भएका नेपालका हरेक संघर्षको घडीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन् ।”

प्रधानमन्त्री ओलीको जारी गरेको सन्देशमा भनिएको छ “मे दिवसको यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा काँधमा काँध मिलाउँदै युगान्तकारी राजनीतिक–सामाजिक परिवर्तन हासिल गर्न श्रमजीवी वर्गले पुर्याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दछु ।”

सरकारले श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन गराउने क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरिसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “श्रम ऐनकै व्यवस्था वमोजिम श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार भइसकेको” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *