Sajhamanch Archive

‘गुटगत राजनीतिको अन्त्य कांग्रेसमा पहिलो आवश्यक शर्त’ : पूर्व राज्यमन्त्री बाँस्कोटा

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by .

बिर्तामोेड । सरकारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट देशब्यापी जनजागरण अभियान शुरु गरेको छ । सरकारका गलत कामको भण्डाफोर गर्दै कार्यकर्तालाई जागरुक बनाएर स्थानीय तहदेखि नै प्रतिपक्षको भूमिका सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले देशब्यापी जागरण अभियान शुरु गरेको हो ।

जागरण अभियान सफल पार्न कांग्रेस केन्द्रीय सदस्यहरु ७७ वटै जिल्लामा पुगेर आज नै जिल्लास्तरीय भेला, गोष्ठी अन्तरक्रियाजस्ता कार्यक्रम शुरु गरेका छन् । देशब्यापी अभियान अन्तर्गत आज झापामा पनि बृहत सभा सम्पन्न भएको छ । हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान भन्ने मूल नारासहित सुरु गरिएको जागरण अभियानमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले कांग्रेस कार्यकर्ता जागरुक भएको तर केन्द्रमा देखिएको गुटगत राजनीतिले कार्यकर्तामा निराशा छाएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अधिवेशनका क्रममा संसदीय मूल्य र मान्यता विपरित अत्यन्तै निकृष्ट भाषाको प्रयोग गरेकोप्रति आपत्ति प्रकट गर्दै कांग्रेस कार्यकर्ताले सरकारले जनभावना अनुरुप कुनै पनि काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा अभियान प्रतिनिधि पूर्व राज्यमन्त्री दीपक बाँस्कोटाले सत्ता कसैका लागि पनि सदावहार नहुने बताउँदै सत्ताबाहिर रहेका कांग्रेस कार्यकर्तालाई सामाजिक सशक्तिकरण र गाउँका विकासमा लाग्न आह्वान गरेका छन् । वडादेखि जिल्ला समितिको स्प्रिटलाई हेरेर कांग्रेसले जित्ने रणनीति तयार पारी जनतासमक्ष जान पार्टीलाई सुझाव दिदै उनले त्यसका लागि गुटगत राजनीतिको अन्त्य पहिलो शर्त भएको बताए ।

जागरण अभियान प्रतिनिधि तथा नेपाल महिला संघ केन्द्रीय सदस्य भगवती पौडेलले पार्टीले गर्न लागेको जागरण अभियानबारे जानकारी दिदै यो अभियान एक वर्षसम्म निरन्तर चल्ने जानकारी दिइन् । ‘केन्द्रका नेताहरु एक हुन आवश्यक छ’ दलित संघ केन्द्रीय सदस्य हस्त परियारले भने ‘कांग्रेस नेता कार्यकर्ता अनुशासित बन्नुपर्छ, कामको मूल्याङ्कन गरेर पार्टीको जिम्मेवारी दिइनुपर्छ ।’

केन्द्रमा देखिएको गुटगत राजनीति अन्त्य गरेर एकताको सन्देशसहित कार्यकर्तामाझ जागरण अभियान लैजाँदा मात्रै अभियान सफल र प्रभावकारी हुने सुझाव दिदै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईंले एकपटक केन्द्रीय सदस्य भएको व्यक्ति सदैव महाधिवेशन प्रतिनिधि भइरहने ब्यवस्थाको खारेज गरेर प्रजातान्त्रिक विधि र प्रक्रियाको सम्मान गर्न केन्द्रीय समितिलाई सुझाव दिए ।

‘नेपाली कांग्रेसले राजाको निरंकुशताविरुद्ध संघर्ष गर्यो, राणा शासनको अन्त्य गर्यो’ उनले भने ‘पार्टीभित्र कै निरंकुशता सहने कुरा हुँदैन, एकपटक नेता भएको व्यक्ति सधैं नेता हुन चाहन्छ भने उसले वडा तहबाटै संशोधित भएर जानुपर्छ ।’ एकपटक केन्द्रीय सदस्य बनेको व्यक्ति सदैव महाधिवेशन प्रतिनिधि भइरहने व्यवस्थाको खारेजी गर्दै वडा समितिबाटै निर्वाचित हुनुपर्ने र समानुपातिक सहभागिता गराउँदा एक व्यक्तिलाई एकपटक मात्रै अवसर दिनुपर्ने म्याण्डेट यसअघि काठमाडौमा सम्पन्न महाधिवेशन बैठकले दिएको थियो ।

कांग्रेसमा विधान संशोधनका लागि महाधिवेशन बैठक शक्तिशाली मानिन्छ । तर महाधिवेशनको निर्णय विपरित केन्द्रीय समितिबाट यी दुई मुख्य मुद्दामा पहिलाकै विधान पारित भएको भन्दै अधिकांशले महाधिवेशन बैठकको निर्णय केन्द्रीय समिति बैठकले काट्नै नसक्ने बताएका थिए ।

पार्टीको यस निर्णयले संस्थागत अराजकता मच्चिएको र पार्टीभित्र निरंकुशता मौलाएको कांग्रेस झापाका सभापति उद्वव थापाको टिप्पणी थियो । ‘हामीले कहिल्यै कांग्रेसलाई धोका दिएका छैनौ’ कांग्रेसका पुराना कार्यकर्ता गंगाबहादुर भुजेलले नेतृत्वतर्फ संकेत गर्दै भने ‘तपाईहरु मिल्नुहोस्, नेता मिलाउनुहोस्, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुहोस् ।’

ब्यक्तिगत गुटउपगुट छाडेर संस्थागत रुपमा कांग्रेस हुन पाउने व्यवस्थाका लागि जागरण अभियान केन्द्रीत गर्न सुझाव दिँदै अर्का वक्ता दिपेन्द्र ढकालले प्रतिपक्षी भूमिकालाई सशक्त बनाउन पनि पार्टी नेतृत्वलाई आग्रह गरे ।

अर्का वक्ता दिपेन्द्र पोखरेलले ७० बर्ष नाघेका नेताहरुलाई मार्गदर्शक समितिमा बसेर पार्टी हाक्ने जिम्मेवारी युवा नेतालाई दिन आग्रह गरे ।
कांग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डेले गाउँको जागरणले मात्रै पार्टी बलियो नहुने धारणा राख्दै गाउँमा नआउने नेता जनउत्तरदायी हुनै नसक्ने टिप्पणी गरे ।

कार्यक्रममा नेपाल महिला संघ सभापति सुशिला ढकाल, तेजप्रसाद चौंलागाई, मनप्रसाद कोइराला, डम्बरसिंह शिवु, दीपक तामाङ, सिता पौडेल, भुमा घिमिरे, सुन्दरा लुहागुन, शोभा विक लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *