Sajhamanch Archive

धुलाबारीमा दर्जनौं सम्मानित

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज by .

धुलाबारी । नेपाली साहित्य, कला, संगीत र ज्येष्ठ सदस्यहरुप्रति पुर्याएको योगदानको मूल्याङ्कन गर्दै ज्येष्ठ नागरिक वडा समिति मेचीनगर ९ ले दुईजना सर्जकसहित पाँच दर्जनबढी बृद्धबृद्धालाई बिहीबार सम्मान गरेको छ ।

धुलाबारीमा आयोजित कार्यक्रममा मेचीनगर नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती तथा वडाअध्यक्ष गोपाल खड्काले सम्मान तथा कदरपत्र हस्तान्तरण गरेका हुन् ।

साहित्यकार मात्रिका संग्रौला र केन्द्रप्रसाद भट्टराईलाई सम्मान गर्दै दुवैजनाले नेपाली साहित्य, कला, संगीत र ज्येष्ठ सदस्यहरुप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिएको कदरपत्र प्रदान गरिएको छ । सम्मनित व्यक्तित्वहरुलाई ढाकाको टोपी पहिर्याएर सम्मान पत्र प्रदान गरिएको हो ।

रेडियो कार्यक्रम उत्पादन गरेर सन्देशमूलक कार्यक्रम मार्फत ज्येष्ठ नागरिकहरुका भोगाई, भावना एवम् कथाव्यथा आदिको उजागर गरिदिएकोमा भट्टराई सम्मानित भएका हुन् । यस्तै, गीत, संगीत, साहित्य तथा लोकबाजाका माध्यमबाट ज्येष्ठ नागरिकहरुको पीर मर्कालाई समेटेर कृतिसमेत प्रकाशित गरी माता पिताको सद्भाव र सामाजिक क्षेत्रमा पुर्याएको उत्कृष्ट एवम् अतुलनीय कर्मको प्रशंसासहित संग्रौलालाई सममान गरेको जनाइएको छ ।

सो कार्यक्रममा नगरप्रमुख आचार्यले ज्येष्ठ नागरिक भनेका समाज र देशकै पुजनीय हुन्, समाजमा पुज्न लायक नै जेष्ठ नागरिकहरु हाम्रा लागि देवता समान रहेकाले उनीहरुप्रति मानसम्मान आदर गर्नुपर्ने भनाई राखे । उनले स्थानीय सरकार नगरका ज्येष्ठ नागरिकहरुप्रति सदैव सकारात्मक र ज्येष्ठ नागरिकहरुले पाउने सेवा सुविधा प्रदान गर्न सक्रिय भएर लाग्ने बताए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले ज्येष्ठ नागरिक हाम्रा अभिभावक भएकाले उनीहरुले दिएको शिक्षा दिक्षा ग्रहण गरेर उनीहरुले देखाएको सकरात्मक गोरेटोमा हिड्न सक्नुपर्नेमा जोड दिइन् ।

हरेक ज्येष्ठ नागरिकप्रति हरेक क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दैं उनले यात्रा गर्दाका क्रममा सवारी साधनमा होस या उपचारका क्रममा अस्पतालले ज्येष्ठ नागरिकहरुका लागि सहज सेवा सुविधा उपलब्ध हुनुपर्ने आवश्यकता दर्शाइन् ।

समितिका अध्यक्ष जय आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडाभित्रका ८४ देखि ९९ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकलाई फलफूल, रुद्राक्षको माला, दोसल्लासहित सम्मान पत्र प्रदान गरिएको थियो । ज्येष्ठ नागरिक जिल्ला समिति झापाका सल्लाहकार महाविरप्रसाद अग्रवालले सबैलाई सम्मान गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव चिन्तामणि ढकाल र स्वागत कोषाध्यक्ष शंकरप्रसाद दाहालले गरेका थिए । सम्मानितका तर्फबाट सुसेली साहित्यिक परिवारका उपाध्यक्ष एवम् कलाकार केन्द्रप्रसाद भट्टराईलगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *