राजनीतिक परिवर्तनसँगै स्वच्छ पिउने पानी उपभोगमा पनि आमूल परिवर्तन !
Published:
by .मेचीनगर । प्रदेश १ का सांसद गोपालचन्द्र बुडाथोकीले २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपाली जनताले शुद्ध र स्वस्थ अनि स्वच्छ पानी उपभोग गर्न पाएको बताएका छन् ।
धुलाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मेचीनगरको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पद हस्तानतरण तथा सपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रदेशसभा सदस्य बुढाथोकीले यस्तो बताएका हुन् ।
उनले २०४६ अघि आम नागरिकले कस्तो पानी पिउनु पर्दथ्यो र २०४६ पछिको राजनीतिक परिवर्तनसँगै कसरी पानी पिउन थाल्यौं त्यसको स्मरण गर्दै यसको व्यवस्थापनका लागि कुन प्रक्रिया अवलम्बन गरियो भन्ने कुरा सबैलाई थाहा भएको प्रष्ट पारे ।
त्यसको निरन्तरतासँगै जिम्मेवार र चुनौती पनि थपिएकाले अबको आवश्यकतालाई पहिचान गरेर भएका धाराको व्यवस्थापन कसरी गर्ने, हरेक नागरिकलाई स्वच्छ र सफा पानी कसरी पुर्याउने भन्नेतर्फ नवनिर्वाचित समिति लाग्नुपर्नेमा सुझाव दिए ।
उनले जिम्मेवार निकायमा बसेका व्यक्तिहरुले भाषणभन्दा काम गरेर जनताको मन जित्नुपर्ने सुझाए । अब हरेकले भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले हरेकले आफ्नो काम कर्तव्य पूरा गरेर जनतालाई बाँडेका आश्वसन पूरा गर्नुपर्ने दर्शाए ।
कार्यक्रमका मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले सफा स्वस्थ र स्वच्छ पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले सम्बन्धित निकायले त्यसक्षेत्रमा पानीको वितरण प्रणालीलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
उनले स्थानीय सरकारको हैसियतले मेचीनगर नगरपालिकाले आफ्ना नगरका सबैक्षेत्रमा पानी आपूर्ति गर्नका निम्ति आवश्यक योजना तर्जुमा गरेको बताए । नगरमा सञ्चालनमा रहेका काँकरभिट्टा, धुलाबारी, चारआलीसहित बाहुनडाँगीमा रहेका खानेपानी आयोजनाको विकासका लागि नगरपालिकाले सम्बन्धित पक्षको ध्यानकर्षण गराएको जानकारी नगर प्रमुख आचार्यले दिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले चुनाव अघि स्थानीय उपभोक्ताहरुलाई बाँडेको आश्वसन पूरा गर्न नवनिर्वाचित पदाधिकारीहरलाई सुझाव दिएका थिए । उनीहरुले हिजो जसले जुन राजनीतिक दलबाट चुनाव जिते पनि अब त्यसलाई बिर्सेर हरेक उपभोक्ताको हितमा काम गर्न आग्रह गरे ।
अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले नवनिर्वाचित अध्यक्ष अजयकुमार घिमिरेलाई अध्यक्ष व्याच लगाएर तथा अध्यक्षको कुर्सीमा बसाएर पद हस्तान्तरण गरेका हुन् । अरु सबै पदाधिकारीहरुलाई पनि सोही बमोजिम निवर्तमान पदाधिकारीहरुले पद हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष घिमिरेले प्रतिवद्धता तथा निवर्तमान अध्यक्ष बुढाथोकीले विदाई मन्तव्य राखेका थिए ।
Comments