Sajhamanch Archive

कविता : सम्पन्नताको खोजी

Published: in शिक्षा, by .

उध्रिएको मन सिलाउनु छ
सगोलमा,
कसैको आगमनको प्रतिक्षामा
तारेभिरजस्तै
जीवन काटेका उनीहरू
सपाट भविष्यको पर्खाइमा
एकनासे जिन्दगी काट्दै छन् युगौँ युगदेखि

कतै थिएनन् होला
उनीहरूमा आशाका मुना
न त आँखाभरि सपना,
कतै कल्पनाका तानहरू बुनिन्थे
किनकि, थियो त्यहाँ एकलासको बस्ती
तैपनि,
किन आउनु बिथोल्न झुटो आश्वासन बोकेर !

एकाध समयमा फुस्रो आश्वासन बोकेर
कृतिम अनुहारका एजेन्टहरू
अनकन्टार यो बस्तीमा
विजयोत्सवको झण्डा फरफराउने
लालसाले सम्पनताको
झुटो कोसेली बाँड्न आएका नीतिका साधकहरू

त्यसैबेला विश्वासका डोरी थमायो
र,
प्रशिक्षण दिइयो सम्पन्नताको खोजी गर्न
कल्पनाको उडान भरेहोलान् कति कति !
बिथोलिएनन् एकाग्र मन,
सम्हालिए समयमै
र त तरङ्गित मनलाई जितेका थिए
सहजै कैद गर्न पनि

तर अब समय परिवर्तन हुनु छ
बस्तीका रहरहरू दनदनी बल्दैछन्
उज्यालो खोजिँदैछ
गुरु थापेर अन्धकारलाई
खोजिँदैछ आधुनिकताको परिभाषा
दृष्टि राखेर सिमाना पारिको सम्पन्नतामा

भोकले डाम्रिने पेटहरू
खोल्दैछन् कसिएका पटुकी
भन्ज्याङमा चिप्लिएका पाइला
थामिँदैछन्
पोल्दैन अब घाम, पानी र ठिहीले
यस्तै भेटिए होला परिभाषाहरू

देखेर सिमानापारिको लाली
गुन्जिएका छन् भाका शान्ति, सुशासनको चाहनासँगै
यी वारिका गोधुँली साँझ
आतङ्क मडारिँदै खोजी रहेछन् गाँस बास र कपास

अनि सोच्छन्
भूगोल उस्तै, उस्तै छ हावापानी
नदीको झङ्कार उस्तै
हुर्केको पाखोपखेरु सब सब उस्तै उस्तै
क्षितिजमा डुब्न लागेको घाम उस्तै
सुनौलो बिहानीको पर्खाइमा रमाएको मन किन फरक

आज आफैँ गोरेटो तय हुँदैछ
खोजी
आफ्नो अस्तित्व, पहिचान
र समृध्द जीवन तथा बस्तीको,
र धाउँदैछन्
ढकढक्याउन सिंहदरबारको ढोका
सम्पन्नताको खोजीमा !!

– भक्तपुर सल्लाघारी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *