Sajhamanch Archive

‘घोषणापत्रका ८० प्रतिशत काम २ वर्षमै पूरा गरेको छु’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, , by .

बिर्तामोड नगरपालिका वडा नं. १ को वडाध्यक्ष हुनुभएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु सम्पादन भए ?

म विगत २० वर्षदेखि निरन्तर यही वडाको बासिन्दा रहेकाले जनताका बीचमा नै रहेर काम गरिरहेको अवस्था हो । यो वडामा कुन ठाउँमा के समस्या छ, कुन कुन योजना कहाँ कहाँ गर्नुपर्ने भन्ने बारेमा मलाई राम्रोसँग थाहा छ । चुनावको बेलामा मैले धेरै कुरा जानकारी लिन सकेँ । १ नं. वडाको समस्या के के हो ? यसको निदान कसरी हुन्छ भन्ने मलाई राम्रोसँग हेक्का भयो ।

त्यसपछि मैले भनेको थिएँ, ठूला समस्या पहिचान गरी तिनलाई पहिलो प्राथमिकता राखेर काम अगाडि बढाइएको छ । पहिलो प्रथमिकता भनेको यहाँ डुबानबाट आक्रान्त बनेका वडाबासीलाई ३ वर्षमा मुक्ति दिन्छु भनेको थिएँ । त्यो काम मैले लगभग पूरा गरेको छु । ड्रेनसहितका बाटोहरु बनाइरहेको छु । डुबानमा परेका बाटोहरुको नाला ठूलो बनाएर बाटो क्लियर बनाइएको छ ।

बीचका ससाना बाटोहरुमा गिट्टीबालुवा हालेर ग्राबेल गर्ने काम तीब्र गतिमा भइरहेको छ । गतवर्ष हामीले वडालाई टुकिरहित बनाउने भनेर काम थालेकोमा अहिले हाम्रो वडामा कतै अँध्यारो छैन, सबैका घरमा विजुली बत्ती पुगेको छ । यो वर्ष मात्रै ४–५ वटा कार्यक्रम गरिसकेका छौँ । यसैगरी विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने आफ्नो जातजातिको संस्कृतिलाई सरक्षण गर्ने कार्यक्रमसहित विभिन्न जातीय संस्कृति अनुसारका बाजा खरिद गरेर हस्तान्तरण गरेका छौँ । यो अवधिमा हेर्न लायक काम गरेको छु भन्नेमा म विश्वस्त छु ।

यो अवधिमा अरु वडाभन्दा आफ्नो वडालाई नयाँपन दिन फरक काम के गर्नु भयो त ?

वडा नं. १ का प्रत्येक घरमा, चोकचोकमा फोहोर संकलनको लागि गाडी पठाएर फोहोर संकलन गर्ने व्यवस्थापन गरेका छौँ । बिर्तामोड नगरपालिकाका सबै वडामा यस्तो सुविधा प्रवाह गर्न सकिएको छैन । वडा नं. १ को भूगोल विशेषतः सहरभित्र नै परेकाले पनि वडाबासी हामीले यो अवसर पाएका छौं ।

पछिल्ला दुईवटा आर्थिक वर्षको बजेट परिचालन गरिसक्नु भएको छ । बजेट परिचालन गरिसक्दा वडाबासी कत्ति सन्तुष्ट भएका छन् भन्ने लाग्छ ?

सेन्ट पर्सेन्टलाई सन्तुष्ट बनाएको छु । बुझ्दा थाहा हुने कुरा हो । अहिलेसम्मको अवस्था ठीक छ । सबै वडाबासीलाई सन्तुष्ट बनाएको छु । हाम्रा प्रतिनिधिहरु सबै रात दिन नभनी खट्नु भएको छ । समस्या छ छैन बुझेका छौँ । त्यही कारण हुनसक्छ सबै वडाबासी सन्तुष्ट भएको ।

तपाई बिर्तामोड नगरपालिकाको प्रवक्ता पनि हुनुहुन्छ । बिर्तामोड नगरपालिका कुन बाटोमा हिंडिरहेको छ ? कहिले कँही काम कारवाहीबारे तीब्र आलोचना पनि भइरहने गर्छ ?

बिर्तामोड नगरपालिकाले समृद्ध र सुखी नगर अभियान भनेर लागिरहेको छ । नगरप्रमुख पनि नगरलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर चिन्तित भएर लाग्नु भएको छ । नगरप्रमुखको मेहेनतले सघन सहरी कार्यक्रम, एशियाली विकास बैंकका कार्यक्रमहरु पनि ल्याएका छौँ । विषादि रहित नगरको लागि विषदि मापन गर्ने मेसिन सञ्चालनमा छ । त्यो मेसिनले मापन गरेर मात्र कृषिजन्य वस्तुहरु सहरमा प्रवेश गर्न दिन्छौं । जहाँ काम हुन्छ त्यहाँ आलोचना त हुन्छ नै, आलोचना भन्ने शब्द त काम गर्नेहरुका लागि गुरु हो । आलोचनाले मानिसलाई अगाडि बढ्न मद्धत गर्छ ।

आउँदो आर्थिक वर्ष २०७६/०७७ का लागि जनपक्षीय कार्यक्रमहरुको योजना के के बनाउनु भएको छ ?

हामी योजना तर्जुमा गर्नतिर लागेका छौँ । योजना गर्दा बस्ती छनोट गरिन्छ । टोल विकास संस्थाले माग गरेका आवश्यकता र बजेटको औचित्य मानेर बजेट विनियोजन गर्नतर्फ लाग्छौँ । एउटा महत्वपूर्ण काम नगरपालिकाले टोल विकास संस्था गठन गर्नुपर्छ भनिरहँदा जुन दिन निर्देशिका आयो त्यही दिन ४० वटा टोल विकास संस्था गठन गर्न सकियो । बिर्तामोड नगरपालिकाले त्यही टोल विकास संस्थाले योजना छनोट गरेर पठाउँछ । हामीले निर्णय गरेका छौ, अब प्रत्येक वडा सदस्य, वडाअध्यक्ष कर्मचारी सबै गएर टोल विकास संस्थाबाट योजना छनोट गरी बैठक बसेर मागपत्र ल्याउने तयारी छ ।

चुनावी घोषणा पत्रमा उल्लेख गरिएका कार्यहरु तपाईको कार्यकालमा पूरा होलान् ?

मैले जहाँ जे बोलेँ, त्यो कार्यान्वयन गरेको छु । ८० प्रतिशत काम सक्न लागेको छु । अब ३ वर्ष कार्यकाल रहँदा २ वर्ष पछि हामील के गर्ने प्रष्ट ल्याउँछौे । एक ठाउँमा चुकेका छौं । हाम्रो वडामा सरकारी विद्यालय छैन । त्यसका लागि धेरै मेहेनत गर्यौं, टिम बनायौँ, कोसिस गरिरहेका छौँ । सकिरहेका छैनौँ । यही काम पूरा गर्नमा जुटेका छौँ ।

अन्त्यमा, साझामञ्च डटकममार्फत् केही भन्न चाहनुहुन्छ कि !?

बिर्तामोडको १ नम्बर वडाबासी मेरा लागि सबै गुरु बा गुरुआमा जत्तिकै हुनुहुन्छ । सबैलाई समान नजर र समान व्यवहार गरेको छु । भोट हालेर यहाँसम्म ल्याई दिनु भयो हार्दिक नमन छ । साझामञ्च डटकममार्फत् आफ्ना भनाई राख्ने मौका दिनुभयो, तपाईंहरुलाई धन्यवाद ।

– प्रस्तुति सञ्जु शिवाकोटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *