पहाड–मधेश सद्भावको सेतुः ‘मिता आब को नाचलब’
Published:
by .काठमाडौं । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब को नाचलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।
कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ ।
वैशाख २० गतेदेखि आगामी जेठ ५ गतेसम्म नाटक मञ्चन हुने निर्देशक कामतले बताएका छन् । ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्यो’ कामत भन्छन्, ‘जसका कारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनः कायम भयो, यही विषयलाई नाटकमार्फत् प्रस्तुत गरिएको छ ।’
‘मिता आब को नाचलब’ले मधेश आन्दोलन पछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए । मिता आब को नाचलब अर्थात् ‘मितज्यू अब कसरी जाने ?’ नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ ।
नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ । निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन् ।
Comments