अर्जुनधाराको ताजा निर्णयः विपन्नका लागि २०० घर बनाइँदै
Published:
by .अर्जुनधारा । तराई–मधेश समृृद्धि कार्यक्रम अन्तर्गत २०० विपन्न परिवारका लागि आर्जुनधारा नगरपालिकाले सामुहिक आवास निर्माणको प्रस्ताव पेश गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले सामुहिक आवास निर्माण गर्ने निर्णय गरेको नगरप्रमुख हरिकुमार रानाले बताएका हुन् । विपन्न घर परिवारका लागि सामुहिक आवास निर्माण गर्नेसँगै नगर कार्यपालिकाको ५२औँ बैठकले ९ बुँदे महत्वपूर्ण निर्णय सर्वसम्मतीले पारित गरेको नगरप्रमुख रानाले जानकारी दिएका छन् ।
निर्णयानुसार, अर्जुनधारा नगर क्षेत्रभित्र छरिएर रहेका साना मझौला तथा कुटिर उद्योगहरुलाई प्रवद्र्धन तथा प्रोत्साहन गरिनेछ । यस्तै, औद्योगिक ग्राम स्थापना गर्न औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि अनुरुप आवश्यकता पर्ने जग्गाको व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय भएको छ ।
वडा नं. ३ को कार्यालय अगाडि व्यवसायिक भवन निर्माणसहित खुदुनाबारी बजार व्यवस्थापन र शनिश्चरे बजार व्यवस्थापनको लागि नगर कार्यपालिकाले निर्णय गरेको छ । त्यसका लागि नगर विकास कोषबाट नगरपालिकाले सञ्चालन गर्ने सम्भावित योजनाहरुको विवरणसहित आसयपत्र माग भई आएको हुनाले खुदुनाबारी र शनिश्चरे बजार व्यवस्थापनको लागि नगरपालिकाको तर्फबाट आसयपत्र पठाउने निर्णय भएको नगरप्रमुख रानाले जानकारी दिए ।
त्यस्तै, नगरपालिकामा सञ्चालन भएका आयोजनाहरु नारायणचोकबाट खुदुनाबारी जोड्ने सडक कालोपत्रे गर्ने, चारपाने चोकबाट वडा नं ५ हुँदै ७ नं. वडा कार्यालय जाने सडकसहित ७ नं वडा कार्यालयबाट हात्तीकिल्ला हुँदै बुधबारे जोड्ने सडक निर्माण सम्पन्न गर्न माथिल्लो निकायसँग आवश्यक बजेट माग गरिने भएको छ ।
त्यस्तै, राष्ट्रपति चुरे मधेस तराई विकास समिति अन्तर्गत नगरमा सञ्चालन भइरहेका केही योजना विभिन्न कारणले सञ्चालन कठिनाई भएकोले त्यसको समाधानका लागि समिति समक्ष अनुरोध गर्ने बताइएको छ ।
त्यस्तै, वडा नं. ४ को दहिझोडामा रिचार्ज पोखरी निर्माणका लागि वनक्षेत्र भएकाले वन कार्यालयबाट अनुमति प्राप्त हुन नसकेको, वडा नं. ३ स्थित सुखानी खोलामा तटबन्धन गर्ने कार्यमा तयार गरिएको लगत स्टमेट पुनः स्टमेट गर्नुपर्ने भएकाले सोको लागि अनुरोध गर्नेसमेत निर्णय भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७५/०६७ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरी वातावरण हरियाली बनाउनका लागि ५ लाख विनियोजन भएको छ । विनियोजित रकमले वडा नं ९ स्थित नमूना सामुदायिक वनमा विरुवा उत्पादन गर्न कार्यपालिकाले निर्णय गरेको छ ।
Comments