Sajhamanch Archive

देउनियाँमा झोलुङ्गे पूल, पृथ्वीनगरमा बाटोको शिलान्यास

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

झापा । झापाका जनप्रतिनिधिहरुले संसदबाट विनियोजित बजेटलाई व्यवहारिक कार्यान्वयन गर्न थालेका छन् ।

आज वैशाख ३० गतेमात्र क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँले क्षेत्र पूर्वाधार कोषबाट विनियोजन गरेको १९ लाख रुपैयाँले भद्रपुर ४ मा सडक निर्माणको शिलान्यास गरिएको छ ।

भद्रपुर ४ को मन्त्रीचोक (साविक महेशपुर) बाट ज्ञानेचोक (साविक पृथ्वीनगर) जोड्ने सडक निर्माणको शिलान्यास गरिएको हो ।

प्रदेशसभा सदस्य बसन्त बानियाँले सडक निर्माणको शिलान्यास पछि बोल्दै जनप्रतिनिधिले विकास निर्माणका लागि छुट्याएको बजेट सही ठाउँमा उपयोग गर्न सकेमा जनताप्रति सम्मान ठहर्ने बताए ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्ण पुरीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ, वडाध्यक्ष हंशधर राजवंशी, नेकपाका जिल्ला सदस्य असारु राजवंशीले आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैगरी, हल्दिबारी–भद्रपुर–बिर्तामोड तीनवटा पालिकालाई जोड्ने देउनियाँ खोलाको सुकुम्वासी टोलमा बनाइने ११९ मिटर लामो झोलुङ्गे पूलको आज नै शिलान्यास गरिएको छ ।

करिव एक करोड ५६ हजार रुपैयाँको लागतमा निर्माण गरिने झोलुङ्गे पूलको शिलान्यास तीनवटै स्थानीय तहका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले गरेका हुन् ।

प्रदेशसभा सदस्यहरु बसन्त बानियाँ, गोपालचन्द्र बुढाथोकी, एकाराज कार्की र पूर्णसिंह राजवंशी झोलुङ्गे पूलको शिलान्यास गर्न सहभागी थिए ।

यस्तै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले पनि विधिपूर्वक झोलुङ्गे पूलको शिलान्यास गरे ।

पुण्य लम्सालको अध्यक्षतामा आयोजित झोलुङ्गे पूल शिलान्यास कार्यक्रमको सञ्चालन असारु राजवंशीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *