Sajhamanch Archive

काँकरभिट्टामा आजदेखि पर्यटक सहायता कक्ष सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । प्रदेश १ को उद्योग, पर्यटन वन, तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले सरकारले अघि सारेको ‘नेपाल पर्यटन वर्ष २०२०’ सफल बनाउन हरेक क्षेत्र लाग्नुपर्ने औंल्याएका छन् ।

बुधबार काँकरभिट्टामा नवनिर्मित पर्यटक सहायता कक्षको उद्घाटन गर्दै सचिव ढुंगानाले लामो समयदेखि पूर्वीनाकामा निक्कै आवश्यकता खटिएको पर्यटक सहायता कक्ष निर्माण भएपछि यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई पर्याप्त सेवा पुग्ने विश्वास व्यक्त गरे । यस्ता कक्षले पर्यटकलाई फाइदा पुग्ने भएकाले पनि पर्यटकको रोजाइमा समेत यस्ता प्रवेशद्वार पर्ने उनको भनाई थियो ।

सचिव ढुंगानाले भौतिक पूर्वाधारमात्र भएर नपुग्ने यसले प्रत्यक्षरुपमा पर्यटकहरु लाभावन्तित हुनुपर्ने भन्दै यहाँ खट्ने कर्मचारीहरुको बानी व्यवहार पर्यटकमैत्री हुनुपर्ने पनि सुझाव दिए । उनीहरुलाई आधारभूत तालिमको व्यवस्था, भाषाको ज्ञान तथा नेपालका हरेक क्षेत्रका पर्यटकीय स्थलका बारेमा समेत ज्ञान हुन जरुरी रहेको सचिव ढुंगानाको भनाई छ ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले हाल निर्माणाधिन अवस्थामा रहेको मेची पूलका कारण संरचनाहरु तलमाथि पर्ने भएकाले नगरपालिकाले स्थायीरुपमा त्यस्ता संरचना निर्माण गर्न नसकेको प्रष्ट पारे । उनले स्थानीय सरकारका हैसियतले नगरभित्र रहेका पर्यटकीय एवम् धार्मिक स्थलको पहिचान गरी विकास र प्रवद्र्धनमा ध्यान दिने पनि बताए ।

विदेशबाट पूर्वीनाका भएर नेपाल प्रवेश गर्ने हरेक पर्यटकलाई १-२ दिन मेचीनगरमा राख्न सके तथा नगरभित्र रहेका पर्यटकीय स्थलको स्थलगत अवलोकन गराउन सके यहाँका व्यवसायीहरुको आर्थिक कारोबारमा टेवा पुग्ने नगरप्रमुख आचार्यले बताए । समितिका अध्यक्ष निरबहादुर कार्की नेत्रको सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन सचिव विष्णुकुमार श्रेष्ठ र स्वागत खडानन्द भण्डारीले गरेका थिए ।

पर्यटक कक्षको विधिवत उद्घाटन प्रमुख अतिथि सचिव ढुंगानाले रिवन काटेर र नगरप्रमुख आचार्यले पर्यटन प्रहरीका प्रहरी सहायक निरीक्षक सुवास शेर्पालाई चावी हस्तानतरण गरेर गरेका थिए ।

मेचीनगर नगरपालिकाले करिव तीन लाख रुपैयाँको लागतमा पर्यटन तथा यातायात व्यवस्थापन समितिले छोटै समयमा उक्त कक्ष निर्माण गरेको हो । वैशाख १३ मा नगरपालिका र समितिबीच सम्झौता भएको थियो । समितिका सदस्य बालकृष्ण थापाका अनुसार झण्डै दुईसातामा निर्माण काम सम्पन्न भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *