मिक्लाजुङ घटनाको प्रतक्ष्यदर्शी बालिकाको दमकमा उपचार हुँदै
Published:
by .दमक । पाँचथरको मिक्लाजुङमा गएराति भएका हत्याकाण्डबाट भागेर ज्यान बचाएकी १२ वर्षीया बालिका सीता खजुमको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा खजुमको उपचार भइरहेको छ ।
घटनास्थलबाट भागेर बाँच्न सफल भए पनि बालिकाको दायाँ हातमा चोट लागेको छ । उनको हातको कुइनोमा चार टाँचा लगाइएको छ भने कडा सुरक्षा घेरामा बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आज बालिकाको स्वास्थ्य अवस्थाबारे प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले अस्पतालमै आएर जानकारी लिएका छन् । अनुहार छोपेर आएका व्यक्तिले आफन्तलाई धारिलो हतियार प्रहार गरेको देखेपछि भाग्ने क्रममा हातमा चोट लागेको बालिकालाई उधृत गर्दै डीआईजी रिजालले बताएका छन् ।
बालिकाको अवस्थाबारे जानकारी लिएपछि पत्रकारहरूसँग कुरा गर्दै डीआईजी रिजालले हत्याकाण्डको अनुसन्धानमा कुनै कसर बाँकी नराखेको बताए । उनले तीनवटै घटनास्थलमा कुनै त्रुटी नहुने गरी अनुसन्धान अघि बढाएको बताए ।
सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार नै उक्त घटनामा संलग्न रहेको भनी आशंका गरिएका मानबहादुर माखिम झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
डीआईजी रिजालले माखिम मृत भेटिएको स्थल र उक्त घटनाबारे पनि विशेष महत्त्वका साथ अनुसन्धान गर्ने काम गरिरहेको बताए ।
Comments