Sajhamanch Archive

कार्कीलाई न्याय दिन किन ढिलाई ?

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

अर्जुनधारा । छिमेकीको घेराबन्दीमा परेका अर्जुनधारा नगरपालिका वडा नं. ९ देवर्षी टोलका अम्बरबहादुर कार्कीले आफ्नो घर आवतजावत गर्ने बाटो नपाएको भन्दै मानव अधिकारवादी गुहारेका छन् ।

विगत ४० वर्षदेखि उपभोग गर्दै आएको सार्वजनिक बाटो स्थानीय इन्द्रसिंह बस्नेत, पूर्ण बस्नेत, हेम बस्नेत र खड्ग सापकोटाले पूर्णरुपमा छेकाबारा लगाई हिंडडुल गर्न प्रतिवन्ध गरिदिए पछि जनप्रतिनिधिसँग अनुरोध गर्दा न्याय नपाएकाले मानवाधिकारवादी गुहार्न परेको कार्कीले बताएका छन् ।

आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्कीले भनेका छन्, ‘जग्गाको विषयमा मुद्धा मामला भएका कारण मुद्धा फिर्ता गर्न भन्दै स्थानीय बस्नेत र सापकोटा दुई परिवारले आफ्नो घर अगाडिको बाटोमा बार लगाई दिएका छन् ।’

बाटोमा बार लगाएका कारण कार्की परिवारलाई घरबाट बाहिर निस्कनै समस्या परेको छ । सो बाटो बन्द गरेकाले विद्यालय जाने बालबालिकाले खेतको आली र खोल्साबाट हिड्नु परेको आवागमनबाट पिडीत स्थानीयको भनाई छ । बाटो बन्द गरिदिएकाले एक मिनेट हिंड्दा पुगिने ठाउँमा एक किलोमिटर घुमेर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा समेतको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विगत १० महिनादेखि बाटो बन्द गरेको विषयमा पिडीत कार्कीले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनलाई लिखित जानकारी गराउँदा पनि कसैले चासो नदेखाएको बताएका छन् । कुनैले चासो नदेखाएको कारण मानव अधिकारकर्मीलाई न्याय दिलाई पाउँ भनी आग्रह गरेको कार्कीले बताए ।

वि.सं. २०२० सालदेखि सोही स्थानमा बसोबास रहेका र पत्रकार समेलनमा उपस्थित केदारमान बस्नेत भन्छन्, ‘बस्नेत परिवार र सापकोटा परिवारले हामीहरुलाई पनि पिडीत कार्कीको घरमा गएको देखेभने विभिन्न प्रकारका धम्की दिने, गाली गर्ने गरेको छन् । खेतीबाली गर्नका लागि ट्याक्टर छिराउने ठाउँ पनि नदिँदा जमिन बाँझो रहेकोे छ ।’

नक्सामा बाटै छैन भनेर बस्नेत र सापकोटा परिवारले कार्कीलाई पिडीत बनाइरहेको भए पनि नगरपालिकाको ९ नम्बर वडा कार्यालयले सँधियार ममता ढकालको चारकिल्ला प्रमाणित गरिदिँदा पूर्वपट्टी बाटो रहेको पत्र गत फागुन १५ गतेमात्र दिएको प्रमाण पनि देखाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *