भूमिकामा दमकका ९० जना महिला सीप सिक्दै
Published:
by .दमक । भूमिका सीपमुलक तालिम केन्द्रले आजदेखि ३ महिने सहायक ब्युटीसियन तालिम दमकमा शुरु गरेको छ । दमक ८ मा रहेको तालिम केन्द्रले विवाहिता महिला तथा युवतीहरुलाई स्वरोजार बनाउने उद्देश्यले सहायक ब्युटीसियन तालिम प्रदान गर्न शुरु गरेको हो ।
तालिमको उद्घाटन दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले गरिदिएकी छन् । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटीइभिटी)को सहयोगमा आयोजित तालिमको उद्घाटन पछि बोल्दै तालिममा सिकेको सीपलाई ब्यवहारमा प्रयोग गरेमात्र सरकारको लगानीको सदुपयोग हुने उपप्रमुख अधिकारीले बताइन् ।
खाली समय कसरी पूरा गर्ने भन्ने सोचले भन्दा पनि सीप सिकिसकेपछि त्यसैबाट परिवार पाल्न सकियोस् भन्ने ढंगले अघि बढ्न उपप्रमुख अधिकारीले सहभागी महिलालाई सुझाव दिइन् ।
भूमिका तालिम केन्द्रका प्रमुख भूमिका पोखरेलको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा सिटीइभिटीका उपनिर्देशक शैलेन्द्र आचार्यले बालबच्चा स्कूल पठाएपछि खाली रहेको समयलाई सदुयोग गरी सीपमा दक्षता हासिल गर्न आग्रह गरे ।
सीपमा दक्षता हासिल गरे यसको सीप परीक्षण गर्दा लेभल २ पास गरे विदेश जाँदा पनि यसको उपयोगि हुने उपनिर्देशक आचार्यले सुझाव दिए । सीप सिकेर आत्मनिर्भर बन्न सकियो भने घर परिवार समाज सबैको प्यारो हुने र परिवारलाई स्वरोजागर बनाउन सकिने उनको भनाई छ ।
दमक ८ का वडाअध्यक्ष पशुपतिराज गौतमले सीप सिकेर आए दक्ष ब्यक्तिलाई वडाले पनि सक्दो सहयोग गर्ने आश्वासन दिए । तालिममा सहभागी ९० जना महिलाहरुको सहभागिता छ ।
Comments