Sajhamanch Archive

कचनकवल नागरिकता काण्डः लिन खोज्ने जेल गए, बाबु बन्ने धरौटीमा छुटे

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह, by .

भद्रपुर । नक्कली बावु बनेर वंशजको आधारमा भारतीयलाई नागरिकता दिलाउन प्रशासन कार्यालय आएको घटनामा पक्राउ परेका भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ । भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिलाउन खोज्ने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ चाहिँ धरौटी बुझाएर तारिखमा छुटेका छन् ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले थुनछेकको आदेश सुनाउँदै भारतीय नागरिक भूपाललाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिएका छन् । न्यायाधीश पराजुलीले भूपालकै थुनछेक आदेश बमोजिम नेपाली नागरिक बमबहादुरलाई ३० हजार रुपैयाँ धरौटी तिराएर तारिखमा रिहा गरेको श्रेस्तेदार खनालको भनाई छ ।

नेपाली नागरिकता लिएको खण्डमा तोकेको सजाय तथा जरिवाना अनुसार विदेशी नागरिकको हकमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । तर, नागरिकता नलिई पक्राउ परेकाले सो सजाय तथा जरिवाना उद्योगमा गएर दर्ता भई ६ महिनादेखि साढे दुई वर्ष कैद र २५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

त्यस्तै नागरिकताको कागजात मिलाउने वा सिफारिस गर्ने व्यक्तिको हकमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनमा स्पष्ट उल्लेख गरिएको श्रेष्तेदार खनालको भनाई छ ।

भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्ला बस्ने भूपाल र बमबहादुरलाई प्रशासनका कर्मचारीले कार्यालयबाटै वैशाख १० गते प्रहरीलाई जिम्मा लगाएका थिए । २४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापाले जेठ ३ गते अदालतमा मुद्दा दर्ता गराएको थियो ।

भारतीयसहित दुई जना नागरिकता काण्डमा पक्राउ परेपछि कागजात मिलाउने कचनकवल २ का वडा अध्यक्ष, वडा सचिवसहित ९ जनाको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको भएको थियो ।

अदालतले जारी गरेको पक्राउ पुर्जीमा वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा कार्यालयका सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाम उल्लेख गरिएको थियो ।

नागरिकताको स्थलगत मुचुल्का ढाँचा अनुसार बमबहादुर र चन्द्रकलाले छोरा भूपाल भन्दै वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र दिएमा फरक नपर्ने भनी वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र स्थानीय पाँच जनाले सही छाप गरेको देखिन्छ ।

मुचुल्कामा स्थानीयबासी कचनकवल २ बस्ने कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालले नागरिकता नम्बर राखेर सही छाप गरेका छन् । उनीहरूले सही छाप गरेको मुचुल्काको रोहवरमा वडा सदस्य धनबहादुर गुरुङ बसेका छन् ।

वडा अध्यक्ष मेखबहादुर भट्टराईले हस्ताक्षर गरेको मुचुल्का पत्रलाई कानुनी मान्यता दिन वडा सचिव हरिप्रसाद गौतमको सही छाप लागेको पत्रमा उल्लेख छ । अदालतले पक्राउ पूर्जी जारी गरेपछि सबैजना फरार रहेका थिए । फरार व्यक्तिहरू प्रहरीको सम्पर्कमा भए पनि राजनीतिक संरक्षण र दबाबका कारण प्रहरी कार्यालय झापाले उनीहरूलाई पक्राउ गर्न सकेको छैन ।

यता फरार रहेका वडा सदस्य धनबहादुर गुरुङ भने अदालतमा उपस्थित भएका थिए । अदालतले वडा सदस्य गुरुङलाई ५० हजार धरौटी तिराएर तारिखमा रिहा गरेको अदालतमा श्रेस्तेदार खनालले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *