Sajhamanch Archive

‘सोई ढोले सोई, किरात राज्य खोई’ !

Published: in टिप्स/जानकारी, समाज, by .

मेचीनगर । किरातहरुको महान चाड येलेदोङ ५०७९ एवम् साकेला उँभौली भूमि पूजा २०७६ र साकेला सिलीको प्रदर्शन जताततै भइरहेको छ । आफ्नै साँस्कृतिक कलाका माध्यमबाट किरात समुदायले प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्न माग गरिरहेका छन् ।

यतिखेर जताततै ढोल र झ्याम्टाको ताल गुञ्जयमान छ । अझ छिलीङ्गको धुनले त सबैलाई एकपटक ननचाई छाड्दैन । अनि त्यही तालमा चमरको रौं हल्लाउँदै नेपाली पोशाक र कम्मरमा बाह्रहाते पटुकीमा सजिएका राई समुदायका युवाको बाक्लो सहभागिता ।

चौबन्दी चोली त्यसैमा मिल्ने फरिया शिरमा शिरबन्दी नाकमा ढुंग्री लगाएर कम्मरमा खुर्पा भिरेका त्यही उमेरका युवतीको नृत्यले के गाउँ के शहर अनि किरात समुदायको साकेला थान आर्कषक छन् । पिठ्यूँमा किरात समुदायको लोकप्रिय हतियार तीर धनुक बोकेकाहरुको दृश्यले पनि कार्यक्रम स्थल निक्कै रोमाञ्चक बनेको छ ।

मंगलबार झापाको मेचीनगरमा स्वदेशका हुन वा विदेशका किरात समुदायले एकसाथ साकेला सिली प्रदर्शन गरे । ‘किरात राईहरुको आफ्नै पहिचान, १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण हाम्रो अभियान’ भन्ने नारासहित किरात राई यायोक्खा प्रारम्भिक समिति मेचीनगरले आयोजना गरेको साकेला सिली प्रदर्शन गर्दै किरात समुदायले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गरे ।

उनीहरुलाई जेठ महिनाको टन्टलापुर घामको कुनै वास्तै छैन । अनुहारबाट तरररर पसिना चुहाउँदै तिनै बाजागाजाका तालमा ताल मिलाएर नाँच्न व्यस्त छन् उनीहरु । के युवा युवती के बृद्धबृद्धा ।

उनीहरुको बाजागाजाको तालसंगैको नचाईमा खेतमा बीउ छर्नेदेखि उखेलेर रोप्नेसम्मको अभिनय प्रष्टै झल्किन्छ । किनकि यो नृत्य पनि नयाँ बाली लगाउने बैलेमा गरिन्छ । वन जंगलका जनावरलाई के गर्दा खुशी हुन्छन् भनी नृत्यको माध्यमबाट किरात समुदायले देखाएका हुन् ।

किरात राई समुदायले विशेषगरी नयाँ बाली लगाउने बेलामा उँभौली र अन्न भित्राउने बेलामा वा मंसीरमा उधौली पर्व मनाउने गरेको किरात राई यायोक्खा झापा जिल्ला सचिव केवलराम राई बताउँछन् ।

अघिल्ला वर्षहरुमा किरात राई समुदायका युवा युवतीले ‘सोई ढोले सोई अर्काे ढोले खोई’ भन्दै साकेला सिल्ली प्रस्तुत गरेका भएपनि यसपाला उनीहरुले ‘सोई ढोले सोई किरात राज्य खोई भन्दै आफ्नो राज्य खोजे ।

मुलुकमा संघीयताका बारेमा नाना थरीका बहस चलिरहँदा यी समुदायहरुले आफ्नो जातीय पहिचान तथा भाषा संस्कृतिलाई लोप हुन नदिनका लागि पनि यसलाई आफ्नो महत्वपूर्ण चाडका रुपमा धुमधाम मनाउँदै र चाडपर्वकै अवसरमा आफ्नो किरात राज्य खोजी गरिरहेका छन् ।

मेचीनगरमा भारतको बाघडुग्रा र झापा जिल्लाभरिका किरात राई समुदाय मिलेर एक आपसमा खुशी साटासाट गर्दै एउटै छानामुनि किरात राई उभौली साकेला सिली धुमधामका साथ मनाएका हुन् । आफूलाई प्रकृतिका पूजक ठान्ने किरात समुदायले यस पर्वलाई भूमि पूजा वा किरात समाज सुधार दिवसका रुपमा पनि मनाउने गरेको भनाई छ ।

यो पर्व उनीहरुले परम्परागत संस्कृति, धर्म, रीतिरीवाजलाई लोप हुन नदिनका लागि मनाएको भनाई पनि छ । कला संस्कृतिका माध्यमबाट किरात राज्यको स्थापनाका लागि सरकारलाई दवाब दिने उद्देश्यले पनि यो पर्व मनाइरहेको गीतबाटै प्रष्ट हुन्छ ।

आफ्नो परम्परागत कला, धर्म, संस्कृति, रीतिरीवाजलाई चिरकालसम्म जीवन्त राख्न अहिले नयाँ पुस्ता कम्मर कसेर लागेका छन् । यसरी नै हरेकले आफ्नो कला संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यक रहेको ७६ वर्षीय रामबहादुर राई बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *