Sajhamanch Archive

नेपाली तेक्वान्दो खेलाडीहरु भुटानतर्फ

Published: in खेलकुद by .

काँकरभिट्टा । शनिबारदेखि भुटानको थिम्पुमा हुन गइरहेको पाँचौ अन्तर्राष्ट्रिय गे–रोगी फाइटिङ तथा चौथो अन्तर्राष्ट्रिय पुम्से कान्स प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रशिक्षक प्रेम भण्डारीको नेतृत्वमा ३ महिलासहित १३ जना नेपाली खेलाडी टोलीलाई झापाको मेचीनगरबाट विदाई गरिएको हो । नेपालको प्रतिनिधित्व गर्दै भुटान गएको टोलीले ३३ केजी देखि ८० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक भण्डारीले जानकारी दिए ।

झापा जिल्ला तेक्वान्दो संघले आयोजना गरेको विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यहरु टार्जन सुब्बा र विजय न्यौपानेले खेलाडीलाई उच्च मनोवलका साथ अनुशासितरुपमा आफ्नो खेल प्रदर्शन गर्न र प्रतियोगितामा हारजीत निश्चित भएकाले कहीँ कतै निराश नहुन आग्रह गरे ।

उनीहरुले नेपाली खेलाडीले विभिन्न खेलको माध्यमबाट नेपालको नाम उच्च बनाइरहेकाले फाइटिङ र पुम्से कान्स खेलबाट पनि नेपालले उपाधि उचाल्ने विश्वास व्यक्त गरे ।

झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रदिप श्रेष्ठ, सचिव कुमार भट्टराई, प्रशिक्षक हरि भुजेल, दिनेश श्रेष्ठलगायतले खेलाडीलाई अविर टिका र खादा पहिर्याएर विदाई गरेका हुन् ।

सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १३ वटा देशले सहभागिता जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *