मृत्युसँग जुधिरहेकी छन् बुद्धशान्तिकी मनिषा
Published:
by .बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवै मृगौलाले काम गर्न छाडेको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिबेला समस्यामा छ ।
नोवेल मेडिकल कलेज विराटनगरमा आइसीयू कक्षमा मनिषाको उपचार भइरहेको र डाइलोसिस जारी रहेको उनका काका नेत्रप्रसाद ग्याङमी मगरले जानकारी दिएका छन् । आर्थिक अभावका कारण उपचार गर्न गाह्रो परिरहेको परिवारले बताएको छ ।
बुद्धआदर्श मावि बुधबारेबाट कक्षा १२ सकेकी मनिषाको ‘खाउँ–खाउँ, लाउँलाउँ’ को उमेरमा मृगौला खराब भएको डाक्टरले बताएपछि हामी आत्तिएका छौं, के गरौं कसो करौं भएका छौं, मनिषाका काका नेत्रप्रसादले भने ‘आर्थिक अवस्था अत्यन्त्यै कमजोर भएपछि उनका बुबा कमाउन विदेश गएका छन्, यो खबरले सबैलाई यतिबेला रुवाइ रहेको छ ।’
मनिषाको उपचारका लागि नेपाल तथा भारतका विभिन्न अस्पताल जाँदा हालसम्म धेरै पैसा खर्च भएको काका नेत्रप्रसादले बताएका छन् । मनिषाको जीवन रक्षा गरिदिन परिवारले छरछिमेक, आफन्त, सहयोगी मनसँग अनुरोध गरेको हो ।
‘आर्थिक अवस्था कमजोर भएकै परिवारमा यतिठूलो बज्रपात आउँदो रहेछ, मनिषाकी काकी सीता ग्याङमी मगरले भनिन् ‘सबैले सहयोग गरिदिएमा छोरीको जीवन रक्षा हुनेछ, विन्ती गर्छु ।’
४ महिना अघि मनिषालाई सामान्य स्वास्थ्य समस्या देखा परेको थियो । त्यतिबेला खुट्टा सुन्निने, आँखा सुन्निने समस्या देखियो उनलाई । अहिले उनी नोवेल मेडिकल कलेज विराटनगरमा मृत्युसँग जुधिरहेकी छिन् ।
Comments