Sajhamanch Archive

पुरुष कबड्डीमा झापा च्याम्पियन

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by .

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगितामा झापा च्याम्पियन भएको छ । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा काँकरभिट्टामा आयोजित प्रतियोगितामा १३ जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको हो ।

गत मंगलबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेको छ । प्रदेशभरबाट १२६ जना खेलाडी सहभागी प्रतियोगितामा ताप्लेजुङ र सोलुखुम्बु तेस्रो भएका प्रतियोगिताका निर्णायक संयोजक रतिया राजवंशीले बताए ।

प्रतियोगिताको विजेता टिम झापाले पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँ तथा उपविजेता बनेको मोरङले ५० हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उक्त खेल अवधिभरको उत्कृष्ट रेडर झापाका धिरज चौधरी, उत्कृष्ट डिफेन्डर झापाका अमृत मेचे, उत्कृष्ट क्याचर सोलुखुम्बुका वीर बस्नेत, उत्कृष्ट बोनस मोरङका बविस थापा मगर र उत्कृष्ट खेलाडी मोरङका निकेश राजवंशी घोषित भए । खेलको ५ विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको र प्रतियोगिता सम्पन्न गर्न सहयोगी भूमिका निर्वाह गर्ने विभिन्न व्यक्ति एवम् संघ–संस्थालाई प्रशंसापत्र प्रदान गरिएको छ ।

विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन कार्यक्रमका सभापति एवम् झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, सदस्य पूर्णकुमार सिटौला, ज्ञानेन्द्र राई, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनालीलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *