Sajhamanch Archive

यस्ता रहेछन् निर्माण मजदूर र साना व्यवसायीका समस्या

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । निर्माण क्षेत्रका मजदूर तथा साना निर्माण व्यवसायीका समस्या समाधानका लागि सम्बद्ध पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि रहेका समस्या र विभिन्न विवादहरुलाई समाधान गर्नका लागि अग्रसर हुने निर्माण सम्बद्ध प्रतिनिधिहरुले बताएका हुन् ।

बिर्तामोडमा भएको छलफलमा उनीहरुले निर्माण क्षेत्रका मजदूर तथा साना निर्माण व्यवसायीको हकहित र अधिकारका लागि स्थानीय सरकार, प्रशासन तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदै त्यस क्षेत्रको विवाद समाधानका लागि समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । निर्माण मजदूर तथा साना निर्माण व्यवसायीको सुुरक्षा तथा अधिकारका लागि जिल्ला प्रशासन र स्थानीय सरकार समक्ष संस्था दर्ता गरी विधिसम्मत अघि बढ्ने उनीहरुको भनाई थियो ।

छलफलमा साना निर्माण व्यवसायीका तर्फबाट अध्यक्ष सन्तोष राजवंशी (राजु), उपाध्यक्ष केदार राजवंशी, सचिव श्याम बस्नेतले निर्माण मजदूर तथा व्यवसायीका विविध समस्या र त्यसक्षेत्रका विवादहरुबारे आफ्ना कुरा राखेका थिए । त्यस्तै श्यामकुमार श्रेष्ठ, मणि खुदाङ्ग, नवकिशोर साह, जीतलाल राजवंशी, कृष्ण भट्टराई, कमल कार्कीले समस्या र विवाद समाधानका लागि अग्रसर हुने प्रतिबद्धता जनाए ।

जोखिमपूर्ण कामको रुपमा रहेको निर्माण क्षेत्रमा सम्बद्ध मजदूरको दुर्घटनापछि औषधोपचार तथा क्षतिपूर्तिका लागिसमेत छलफलमा सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । त्यसको लागि ७ लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराउने गरी तत्काल ३५ जना निर्माण मजदूरको सामुहिक दुर्घटना बीमा गरी सो कार्यलाई निरन्तरता दिने उनीहरुको प्रतिबद्धता छ ।

त्यस्तै आप्रवासी कामदारलाई विधि र कानूनको दायरामा ल्याउन पहल गर्ने, निर्माण मजदूरले कार्यस्थलमा प्रयोग गर्ने सुरक्षा सामग्रीको व्यवस्थापन गर्ने, निर्माण क्षेत्रमा नेपाली मजदूरलाई प्राथमिकता दिनेसमेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

भवन निर्माण सम्बन्धी भूकम्प प्रतिरोधी प्राविधिक तालिमलाई निरन्तरता दिन स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई उनीहरुले आग्रह गरेका छन् । झापामा २० हजार बढीको संख्यामा भवन निर्माणका क्षेत्रमा काम गर्ने मजदूर रहेको आंकलन छ भने ७०० को हाराहारीमा साना निर्माण व्यवसायी रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *