काँकरभिट्टामा नाकामा थप सीसी क्यामरा जडान गरिने
Published:
by .मेचीनगर । सुरक्षाका दृष्टिले संवेदनशील मानिने नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टाको निगरानीका लागि थप सीसी क्यामेरा जडान गरिने भएको छ ।
बुधबार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सम्पन्न भेलाले मेचीनगर नगरपालिका र स्थानीयबासीको लगानीमा काँकरभिट्टाका विभिन्न ठाउँमा ७० देखि ८० वटा पाँच मेगा पिक्सेलको नाइट भिजन क्यामरा जडान गर्ने निर्णय गरेको पर्यटन तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर कार्की नेत्रले बताए । समितिकै निगरानमिा क्यामेरा जडान हुने जनाइएको छ ।
नगरप्रमुख विमल आचार्यले अपराधीहरुले विभिन्न नयाँनयाँ शैली अपनाएर अपराध गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले पनि नयाँनयाँ प्रविधिको विकास गर्न आवश्यक रहेको औंल्याउँदै काँकरभिट्टाक्षेत्रमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताए ।
उनले एउटा सिसि क्यामेरा सयजना प्रहरीले गर्ने कामका लागि प्रयोग हुने पनि बताए । नगरका चारआली, धाइजन इटाभट्टा, धुलाबारीमा समेत क्यामरा जडान गर्ने नगरप्रमुख आचार्यले बताए ।
उपप्रमुख मिना पोखरेल उप्रेतीले खुल्ला सीमानाका कारण नयाँ नयाँ अपराधको सिर्जना हुने र यसको नियन्त्रणका लागि तथा दुर्घटनामा अनुसन्धान गर्न सीसी क्यामेराहरु उपयोगी तथा नाकामा सीसी क्यामेरा जडानले अपराधमा कमि आउने विश्वास व्यक्त गरिन् ।
जनसहयोगबाट बजार क्षेत्रमा जडान गरेर नेपालको पूर्वी प्रवेशद्वारमा प्रहरीले चौबीसै घण्टा सीसी क्यामेरामार्फत सहरको निगरानी गर्ने उद्देश्यले जडान गर्न लागिएको सिसि क्यामराको प्राविधिक इष्टमेट तथा स्थलगत अध्ययन अवलोकन गराइएको अध्यक्ष कार्कीको भनाई छ ।
उत्तरमा भट्टराई चोकदेखि पूर्वमा नेपाल–भारतको सीमा मेचीपूल दक्षिणमा हुलाक कार्यालय तथा पश्चिममा अस्थायी ट्राफिक प्रहरी पोष्टसम्म क्यामरा जडान गर्ने योजना रहेको समितिका सचिव विष्णु श्रेष्ठले जानकारी दिए । बजारका अधिकांश ठाउँमा क्यामरा जडान हुनेछन् ।
सीसी क्यामरा मेरो पनि हो भन्ने अपनत्व गराउने नगरपालिकाले स्थानीयबासीको समेत लगानी खोजेको हो । काँकरभिट्टामा सीसी क्यामेरा जडान हुँदा सुरक्षा प्रबन्ध अझै मजबुत हुने, आपराधिक गतिविधिमा कमी आउने प्रहरीले अपेक्षा गरेको छ ।
आधुनिक प्रहरीका लागि सीसी क्यामेरा आवश्यक प्रविधि र अत्यावश्यक साधन भइसकेकोे इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
सीसी क्यामेराले व्यक्तिमा मनोविज्ञान असर पर्ने भएकाले पनि उसले अपराध गर्न छाड्ने तथा सीसी क्यामेराको सही उपयोग गर्नसके धेरै आपराधिक गतिविधिमा कमी हुने र अनुगमन प्रणाली प्रभावकारी बन्ने, अपराधीहरुले ठूल्ठूला अपराध गर्ने अनि प्रमाण नष्ट गर्न अनेक उपाय रच्ने तर सीसी क्यामरामा कैद भए सजिलै उसले अपराधका प्रमाण नष्ट गर्न नसक्ने विज्ञहरुले बताएका छन् ।
जति जति प्रहरी आधुनिक बन्दैं जान्छ उतिउति यस्ता प्रविधि प्रहरीलाई खाँचो पर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसन्धान अधिकृत बताउँछन् ।
Comments