Sajhamanch Archive

आफ्नो हात सुकिलो र सफा हुँदा औडाहा लाग्ने महिला !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य निरु परियारको बाल्यकालमा बिहान र बेलुका खानको लागि त्यति दुख नभए पनि विवाह पछिका शुरुवाती दिनहरुमा उति खुसी मिलेन । कक्षा १० मा पढ्दै गर्दा विवाह गरेकी निरुलाई विवाह पछि दुई छाक खान र एकसरो लगाउन निकै धौधौ भएको अझै झल्झली सम्झना आउँछ । त्यतिखेरका दिनमा पेटभर खाना खाएको उनलाई त्यति याद छैन ।

त्यो दुःख, त्यो अभाव उनका लागि त्यति सहज पक्कै थिएन । सहज हुन्छ होला भन्ने पनि लागेन । लामो जीवनमा यात्रा गर्नु धेरै नै थियो तर त्यो हिंडाई निक्कै कठिन रहेको निरु सम्झन्छिन् । खुट्टामा गह्रुङ्गो ढुङ्गा बाँधिएको जस्तै भएको थियो । तर निरुलाई त्यो गह्रुङ्गो ढुङ्गोलाई खुट्टाबाट फाल्नु थियो । धेरै टाढा जसरी खुट्टामा बिझेको काँडालाई फालिन्छ ।

निरु–रोशनको विवाह अघि नै रोशनले चित्राले बेरेर चारआली चोकमा एउटा सानो मोटरसाइकल ग्यारेज सुरु गरेका थिए । विवाह गरेपछिको छोटो समयपछि नै घर परिवारको आफूहरुलाई हेर्ने नजर फरक पाएको निरुको बुझाई छ । सोपछि चाहिँ निरुले पनि श्रीमानलाई सघाउँछु, मैले पनि केही सहयोग गर्न सक्छु, श्रीमानले गर्ने काम गर्न उनले पनि कम्मर कसिन । र, सोही समयबाट निरु परियार मोटरसाइकल बनाउने सीप सिक्न लागि परिन् ।

निरु परियारसँग मनको वार्ता

माइतमा रहँदा कपडा सिलाउने काम गरेकी उनलाई मोटरसाइकल मेकानिक बन्न अति कठिन भयो । सामान चिन्न, नट बल्टु कता लगाउने, के गर्ने के नगर्ने, अन्योलनमा परिन् । तर उनको अन्योललाई हटाउन उनका श्रीमान् रोशन तम्तयार थिए । श्रीमतीले आफ्नो काममा हात बढाउँछु भन्दा रोशन पनि किन पछि हट्थे र ! निरुले सुरुमा मोटरसाइकलमा पम्प हालेर आफ्नो मेकानिक यात्रा शुरु गरेको अझै सम्झिन्छिन् ।

कतिपय काम त रोशनले गरेको हेरेरै पनि सिकिन् रे निरुले । ‘अहिले मलाई ग्यारेजको सबै काम आउँछ, कामले काम सिकाउँदो रहेछ’ उनी भन्छिन् । श्रीमतीलाई पाल्न नसकेर ग्यारेजमा काम गर्न राख्यो भन्दै कुरा काट्ने जमात पनि कम थिएन त्यो बेला । तर निरुलाई वकर्षपमा केटीले काम गर्नु हुँदैन भन्ने मान्यतालाई तोड्नु थियो, जसरी हुन्छ चिर्नु थियो । निरुलाई सुन्दर घर बनाउनु थियो । त्यो सुन्दर घरमा रमाउनु थियो । अनि यही व्यवसायबाट आफ्नो आर्थिक स्तरलाई उकास्नु थियो, मजवुद बनाउनु थियो ।

२०५७ सालमा विवाहपछि निरु श्रीमानको साथमा ग्यारेजमा जाँदा रोशनको गोजीमा जम्मा ७ रुपयाँ पैसा थियो । भोकले पेटमा मुसा पनि दैडिरहेको थियो । त्यो ७ रुपयाँले चिया र पाउरोटी खायौँ, चामल र अन्य खानेकुरा नजिकैको पसलबाट उधारो ल्याएको उनी सम्झिन्छन् । चारआली चोक, चोकमै ग्यारेज अनि छेउमै चारआली जङ्गल । जङ्गलमा सब्जीको लागि दुस्ख थिएन, त्यही जङ्गलबाट निगुरो टिपेर ल्याउँथिन् । पकाउनका लागि पनि भाँडावर्तन पनि प्रशस्त कहाँ थिए र ! धेरै दिनसम्म निगुरोमा झोल हाल्ने पकाउने, बटुकामा खन्याउने र अन्तिममा भात पकाउने क्रम चलिरहयो ।

एक छाक मात्रै खाएर भए पनि एउटा भिटा किन्ने, त्यो भिटामा सानो घर बनाउने सपना मनमा बुन्दै थिए निरु दम्पत्ती । उनले भनिन्, गरीबले धेरै खानु हुँदैन, पहिला घर बनाउँछु अनि मात्र पेट भरिउन्जेल खान्छु भन्ने लाग्थ्यो । किन भनी प्रश्न गर्दा उनले भनिन्, ‘गरिबीलाई नियालेकी थिएँ । दलित समुदाय त्यही माथि समाजले गर्ने व्यवहार सहन धेरै गाह्रो थियो ।’

एकदिन माइतबाट आमा आउनु भयो । मेरो घरको हालत देखेर आमाले माइतबाट एक बोरा चामल पठाइदिएको सम्झँदै उनी भावुक भइन् । बोल्दा बोल्दै उनको बोली रोकियो । आवाज छातीभन्दा तलै अल्मलियो । दिनहरु बित्दै गए । परियार दम्पत्तीको कडा मेहनतले र परिश्रमका कारण उनीहरुले चारआली चोक मै जहाँ मोटरसाइकल ग्यारेज थियो, त्यही भिटा किन्न सफल भए । ‘मेरो लागि जीवनको सबैभन्दा खुसीको दिन त्यही थियो । आखिर सफलताको पहिलो खुड्किलो पार गरेका अवस्था थियो त्यो’ निरुले गौरव मान्दै साझामञ्चलाई सुनाइन् ।

‘एउटा मिस्त्रीको साहारा लिएर रोशनले ग्यारेज सम्हाल्दै थिए । भिटा किनेकै थियो, रातदिन केही नभनी चित्राले बेरेर घर बनाइयो । केही पछि चित्राले बेरेको सो छाप्रो भत्काएर क्रमशः पक्की घर निर्माण थालियो । श्रीमानको साथमा आफूले पनि परिश्रम गर्दा अहिले तीन तलाको घर बनाउन सकेका छौं’ हाँस्दै उनले सुनाइन् ।

उनलाई आफ्नो हात सुकिलो सफा हुँदा औडाहा लाग्छ । श्रीमानले खान दिन सकेन, पाल्न सकेन हाफपाइन्ट लगाएर मोटरसाइकल बनाउन थालि भनेको सम्झिँदा अहिले पनि नमिठो लाग्छ । बिहान ७ बजे ग्यारेजमा ओर्लेपछि रातको ८ बजेमात्र उनी कोठामा पुग्छिन् । जीन्दगी जिउन सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गर्ने क्रममा धेरै कठिनाई र अप्ठ्यारो आउँछ, त्यो अपठ्यारोलाई चिरेर बाँच्नु नै जीन्दगी हो । त्यो भनाइसँग निरुको जीवनमा धेरै मेल खाएको छ ।

पहिला र अहिलेमा परियार दाम्पतीको जीवनमा आकाश र पताल झैँ फरक छ । निरुसँग के छभन्दा पनि के छैन । फूलजस्ता एक छोरा, एक छोरी छन् । दुवैलाई राम्रोसँग शिक्षा दिइरहेका छन् । संघर्षशील महिलाको उदाहरण दिनुपर्दा निरुको नाम पहिले आउन थालेको छ । ४(५ जनालाई ग्यारेजमा रोजगारी दिएका छन् । बस्ने एउटा मात्र होइन, बिर्तामोडमा भाडा लगाउने घर पनि बनाएका छन् । गाडी छ, आफ्नो लागि स्कुटी छ, हेर्दा धनाढ्य परिवारकी सदस्यजस्तै देखिन्छिन् निरु । दुखको बेला साथ नदिएका मान्छेले हाल निरुको नाम लिन पाउँदा गर्व लाग्छ भनेको सुन्दा खुसीले गदगद् हुन्छिन् ।

निरु भन्छिन् ‘आज मसँग जे छ नाम, दाम, पहिचान सब यही मोटरसाइकल ग्यारेजले दिएको छ । श्रीमान मेरो भगवान हो, मेरो हिम्मत तागत, मेरो भरोसा, हौसला, प्रेरणा सब उहाँ नै हो । उहाँले मलाइ साथ नदिएको भए म कहाँ यहाँसम्म आउन सक्थेँ र ? मैले मोटरसाइकल बनाउँदा उहाँले खाना बनाउनु हुन्छ । हाम्रो घरमा कामको विभेद हुँदैन ।’

उमेरले ३८ पुगेकी निरुसंग केही कुराको अभाव छैन उनलाई हेर्दापनि थाहा हुन्छ । निरु विभिन्न संघ–सस्थामा आवद्ध छिन् । त्यही कारण पनि उनी सधै व्यस्त रहन्छिन् । फुर्सदको बेला परिवारलाई समय दिन पनि पछि पर्दिनन् । अर्को जुनी कसले देखेको छ र यही जीवनलाई सुन्दर बनाउँ, कसैलाई अन्याय नगरौँ, बाँचुन्जेल राम्रो काम गरौँ भन्ने उनको भावना रहेको सुनाउँछिन् । सबैलाइ भन्छु विशेषतः महिलालाई भन्छु व्यवसायमा हात हाल्नुहोस्। व्यवसाय गर्नुहोस्, सुख र दुःख दुबैलाई सहज रुपमा लिनुपर्छ ।

दुःखले मानिसलाई बाँच्न सिकाउँछ । दुखका धेरै रुप रहेछन् । प्रत्येक मान्छेले कुनै न कुनै प्रकारको दुःख व्यहोरिरहेको हुन्छ । सबैलाई आफूले भोगेको दुःख नै ठूलो हो भन्ने लाग्छ । तर जीवनमा जसले जति धेरै दुःख परे पनि हरेस खान नहुने रहेछ । एकदिन पक्कै सुखको दिन आउने रहेछ । त्यसैले हिम्मत नहार्नुस्, धर्य गर्नुस्, लगनशील बन्नुहोस् । ‘आमाले अप्ठ्यारोमा जुध्न सक्ने क्षमतावान छोरी जन्माउनु भयो । यो संसारमा आज मेरी आमा जीवीत नभएपनि मेरो खुसी र प्रगति पक्कै देखिरहनु भएको छ’ निरुको कल्पना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *