Sajhamanch Archive

शिवसताक्षी नगरपालिका, नगर कार्यपालिकाको प्रेस विज्ञप्ती

Published: in विज्ञापन, स्थानीय तह by .

आज मिति २०७६ साल असार १० गतेका लागि निर्धारित यस शिवसताक्षी नगरपालिकाको चौथो नगरपरिषद उद्घाटन समारोहमा प्रमुख आतिथ्यताको विषयमा आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका विषयमा यस नगरपालिकाको ध्यानाकर्षण भएको छ ।

सबै स्थानीयतहले हरेक वर्ष असार १० गते भित्रै बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने व्यवस्था अनुसार नगर कार्यपालिका बैठकमा तयारीबारे छलफल गरिएको विषय छुपाई रहनु पर्देन । तर नगर परिषद उद्घाटन गर्न आमन्त्रण गरिने प्रमुख अतिथिका विषयमा कुनै छलफल नभएको प्रष्ट पार्न चाहान्छौ । नगर कार्यापालिकाले नीति बजेट र कार्यक्रम तयार गर्दा गर्दै निर्धारित समय घर्किदै गएको सन्दर्भमा समाचारमा आए जस्तो प्रतिनिधि सभाका सदस्य माननीय एलपी साँवा र नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेललाई आमन्त्रण गर्ने समय पक्कै थिएन । नगरपालिकासँग माननीय सांसद एवं महान्यायाधिवक्ताको सम्वन्ध विगारिदिने कुत्सित मनसायले प्रकाशित यस्तो समाचार बनाउने तत्वहरुलाई पनि यसै विज्ञप्ती मार्फत सचेत गराउँदछौं । यस विषयमा छलफल गर्ने अवसर पनि प्राप्त नभएको यथार्थलाई भुलेर कपोलकल्पित भ्रामक एवं अतिरन्जित सामग्रीको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं ।

नगरपालिकाको कुनै पनि आधिकारिक धारणाबारे जानकारी लिनु परेमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता वा सूचना अधिकारी मार्फत तथ्यगत र प्रमाणका आधारमा समाचार बनाउन पर्नेमा चिया गफका कुनै विषयलाई समाचार हो भनी आमसञ्चार माध्यमको दुरुपयोग गर्नु पत्रकारिताका मर्म र प्रचलनको पनि उल्लघन हो ।

नगरपालिकासँग सरोकार भएका कुनै पनि विषयमा समाचार प्रकाशन प्रसारण गर्नुभन्दा अगाडि आधिकारिक धारणा लिँदा समाचारको सिद्धान्त ए बी सी को पूर्ण पालना गर्न पनि पत्रकार जगतलाई अवगत गराइन्छ । माथि उल्लेखित विषयमा आएको सबै समाचार असत्य, भ्रामक एवम् कपोलकल्पित रहेकाले सम्वद्ध सबै पक्षमा भ्रममा नपर्न पनि आग्रह गर्दै धमिलो पानीमा माछा मार्ने दुस्प्रयास नगर्न पनि सचेत गराउँदछौं ।

मितिः २०७६ आषाढ १०

                                                  (नविन इजम)

                                                    प्रवक्ता

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *