नेपाल–भारत खुला सीमाना लागूऔषध नियन्त्रणको मुख्य चुनौती
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खुला सिमानाका कारण लागु औषधको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको बताएका छन् ।
बुधबार लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै प्रमुख आचार्यले यस्तो बताएका हुन् ।
नेपाल प्रवेशको पूर्वको पहिलो द्वार भएका कारण सयौंको संख्यामा विदेशी पर्यटक नेपाल घुम्न यही नाका भएर प्रवेश गर्ने गरेको बताउँदै उनले उनीहरुलाई हामीले शुरुमै सकरात्मक सन्देश दिन सके विश्वले नेपाललाई हेर्ने दृष्टिकोण पनि सकरात्मक हुने भएकाले यसतर्फ आम नगरवासी लाग्नुपर्ने बताए ।
दिन प्रतिदिन काँकरभिट्टा नाका लागुऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको र अबैधरुपमा हुने लागुऔषधको ओसार पसार निक्कै चुनौती रहेको नगरप्रमुख आचार्यको भनाई छ ।
कार्यक्रममा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले लागुऔषधको अवैध ओसार पसार र कुलत शून्यमा झार्न खासगरी खुला सीमानानै मुख्य चुनौती भएको दावी गरिन् । जबसम्म कानून दह्रो बन्दैनन्, अनि बनाइएका कानूनहरु पनि कडाईरुपमा कार्यान्वयनमा आउँदैनन् तबसम्म यो समस्या ज्यूँ का त्यूँ रहने उपप्रमुख पोखरेलले प्रष्ट पारेकी टिन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरबाट विभिन्न चेतनामुलक नारा लेखिएका प्ले कार्ड र व्यानरसहित सयौंको संख्यामा निस्केको र्यालीले बाहुनडाँगी रोड, बसपार्क, ६ नम्बर वडा कार्यालय रोड, गुराँस पथ, भट्टराई चोकलगायतका स्थान परिक्रमा पश्चात मेची भन्सार कार्यालयको यात्रु शाखा परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभाको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुरले गरेका थिए । र्यालीमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्की, सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइराला, लागुऔषध नियन्त्रण व्युरो शाखा काँकरभिट्टाका प्रहरी अधिकृतहरु, सरकारी, गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु, पूर्व प्रहरीहरुको संगठन उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
Comments