बाह्रदशी ५ मा खानेपानीका दुईवटा ट्याङ्की निर्माण सुरु
Published:
by .बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. ५ को मुक्तिटोलमा खानेपानी ट्याङ्कीको आज शिलान्यास गरिएको छ । मुक्तिटोलको दुर्गा पाञ्चायन मन्दिर परिसरमा झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्गदेनले पानी ट्याङ्कीको शिलान्यास गरिदिएका हुन् ।
एक करोड ४३ लाख रुपैयाँको लागत इष्टमेटमा निर्माण गरिने दुईवटा खानेपानी ट्याङ्कीको आठ महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष राखिएको समितिका अध्यक्ष रामप्रसाद पोख्रेलले जानकारी दिएका छन् । आयोजना अन्तर्गत अर्को खानेपानी ट्याङ्की ५ नं. वडाकै कटहरडाँगी आधारभूत विद्यालय परिसरमा निर्माण गरिने अध्यक्ष पोख्रेलले बताए ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको आर्थिक सहयोग तथा सहारा नेपाल साकोसको व्यवस्थापनमा खानेपानी ट्याङ्कीको निर्माण गरिने जनाइएको छ । २० हजार लिटर पानीको क्षमतामा निर्माण हुन लागेको उक्त आयोजनबाट ३०० घर परिवार लाभान्वित हुने बताइृएको छ ।
सापडिग्री र अन्धुवा खोलाको चपेटामा रहेका स्थानीयबासी वर्षौंदखि स्वच्छ खानेपानीको समस्या झेल्दै आएका छन् ।
खानेपानी ट्याङ्कीको शिलान्यास पछि सांसद लिङ्गदेनले आयोजना संचालन प्रक्रियामा आइपर्ने कठिनाईमा सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । विशेष गरेर स्थानीयबसीको खबरदारी र सहयोग भए आयोजना समय मै सम्पन्न हुने उनको विश्वास छ ।
सोही क्षेत्रका प्रदेशसभा सांसद पूर्णसिंह राजवंशीले आयोजनाको निर्माणसंगै स्थानीयबासीको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
Comments