शिव श्रेष्ठलाई नेपाली फिल्ममा भ्याइनभ्याइ
Published:
by .एक जमाना ‘लिड हिरो’ को रुपमा अभिनेता शिव श्रेष्ठलाई नेपाली फिल्ममा भ्याइनभ्याइ थियो । ‘एक्सन हिरो’ को रुपमा आफ्नो पहिचान बनाएका उनी पछिल्लो केही वर्षयता भने फिल्म अभिनयबाट निस्क्रिय जस्तै छन् ।
उनी अभिनीत पछिल्लो फिल्म ‘बागमती’ हो । यसपछि उनी पर्दामा देखिएका छैनन् । उनी आफैंले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गर्ने घोषणा समेत गरेका थिए । तर, यो फिल्म आधा छायांकन नसकिँदै रोकियो ।
उमेर घर्किएका कारण उनलाई मेकर्सले हिरोको रुपमा फिल्म अफर गर्न छाडेका छन् । पिताको रोल बढी अफर हुन थालेपछि ‘लिड हिरो’ को पखाईमा उनले लामो समय फिल्म गरेनन् ।
अब भने उनी हातमा आएका प्रोजेक्ट उम्काउने पक्षमा छैनन् । केही हप्ता अगाडि उनी फिल्म ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकामा अनुबन्ध भए । यसमा उनको राजाको भूमिका छ । यो फिल्मपछि उनलाई बाक्लै फिल्मको अफर आइरहेको छ ।
शनिबार दिउँसो अभिनेता शिवले मुकुन्द भट्टले निर्देशन गर्ने फिल्म ‘लप्पन छप्पन २’ पनि साइन गरेका छन् ।
अभिनेता सौगात मल्लको पिताको भूमिकामा शिव देखिनेछन् । भूमिका सकारात्मक रहेको निर्देशक भट्टले प्रस्टाए । शिवको प्रवेशसँगै ‘लप्पन छप्पन २’ मा कलाकारको लाइनअप बलियो बनेको छ ।
अभिनेता शिवले भूमिका राम्रो लागेर फिल्ममा आबद्ध भएको बताएका छन् । उनी यो फिल्मपछि ‘प्रेमगीत ३’ मा व्यस्त हुनेछन् । शिव र सौगातका अलावा यस फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । नेपालसहित अष्ट्रेलिया र युरोपमा फिल्म खिचिँदैछ । पुरुषोत्तम प्रधानले फिल्म खिच्दैछन् ।
फिल्मको प्रदर्शन मिति महाशिवरात्रीको छेको अर्थात् फागुन ९ गतेलाई घोषणा गरिएको छ । चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र छन् ।
निर्देशक मुकुन्द भट्ट र सुनिल निउरेको कथा रहेको फिल्ममा मुकुन्द र सुनिललाई पटकथा लेखनमा अमित शर्माले सघाएका छन् । फिल्मको संवाद भने सुनिलले तयार पारेका हुन् । यो फिल्मलाई ‘डेन्जरस गेम’ भनिएको छ ।
Comments