पर्यटन व्यवसायीलाई भद्रपुरमा डिजिटल प्रविधि प्रशिक्षण
Published:
by .भद्रपुर । प्रदेश नं १ का पर्यटन तथा होटल व्यवसायीहरुलाई डिजिटल प्रविधि अधिकतम उपयोग गर्न आह्वान गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा भद्रपुरमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स (नाटा) प्रदेश नं १ ले आयोजना गरेको एक कार्यक्रमका वक्ताहरुले नेपाली पर्यटन व्यवसायी पनि अन्य देशका व्यवसायीसरह डिजिटल प्रविधिमा दक्ष बन्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा नाटाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईंले अब परम्परागत पर्यटनको भविष्य नरहेको भन्दै पर्यटनको डिजिटल बजारीकरण आवश्यक भइसकेको बताए ।
‘हातले लेखेर काम गर्ने दिन गइसक्यो, अब पनि त्यही ढंगबाट पर्यटनको बजारीकरण सम्भव छैन’ उनले भने– ‘एउटा स्मार्टफोन, एउटा एप्लिकेशन अनि इन्टरनेट माध्यमबाट व्यवसायलाई अगाडि बढाउनु पर्नेछ, ती कुराहरुको ज्ञान अब हामीलाई चाहिएको छ ।’
नाटा प्रदेश नं. १ का अध्यक्ष भूपालबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित टिजिटल प्रविधि सम्बन्धी सो अभिमुखीकरण कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरिदिएका थिए ।
आफ्नो मन्तब्यमा नगरप्रमुख श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको प्रचार विश्वसामु जति हुनुपर्ने हो, त्यति हुन नसकेको भन्दै इन्टरनेटको बढीभन्दा बढी उपयोग गरेर नेपालको पर्यटन संभावनालाई उजागर र प्रचार गर्न पर्यटन व्यवसायी जुट्नुपर्ने बताए ।
नाटा प्रदेश नं १ का महासचिव नविन खरेलले सञ्चालन गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका सागर श्रेष्ठ, नाटा केन्द्रीय महासचिव रमेश थापालगायतले व्यवसायीलाई आफूमा अन्य देशका व्यवसायीसँग प्रतिस्पर्धी बन्नसक्ने क्षमता विकास गर्न आग्रह गरे ।
पर्यटन बोर्डका मनिष आमगाईंले सहभागी पर्यटन तथा होटल व्यवसायीलाई डिजिटल प्रविधिसम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रम समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको नाटा १ नं प्रदेश महासचिव खरेलले जानकारी दिए ।
Comments