बिर्तामोडको बजेट ८० करोड
Published: (Updated: )
by .सहकारिताको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याइयो
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आव २०७५/०७६ को बजेटमा कृषि, शिक्षा र सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा केन्द्रित नीति तथा कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै ८० करोड १७ लाखको प्रस्तावित बजेट आज सार्वजनिक गरेको छ ।
दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा केन्द्रित विकासका योजना र स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा लागानी बढाइएको जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार गत वर्षको तुलनामा शिक्षामा ६४ प्रतिशत बजेट बृद्धि गरी २ करोड ३४ लाख २० हजार पुर्याइएको छ भने कृषि क्षेत्रमा नगरप्रमुख बिषादिमुक्त कार्यक्रम र सहकारी क्षेत्रको विकासका लागि स्मार्ट कोअपरेटिभ मार्केट निर्माणदेखि झापा कोप स्टान्डर्ड लागू गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।
प्रमुख शिवाकोटीद्वारा प्रस्तुत कार्यक्रममा शिक्षाको गुणस्तर कायम गर्नका लागि विद्यालयलाई सहयोगसँगै अवकास लिन चाहने शिक्षकलाई गोल्डेन ह्याण्डसेकसम्मका योजना छन् । स्वास्थ्यमा नगर उपप्रमुख महिला सुरक्षा कार्यक्रम, सहकारीमा ऋण लिएर ऋण नतिर्नेलाई कालोसूचीमा राखेर सुविधाबाट बञ्चित गराउनेसम्मका नीतिगत योजना प्रस्तुत गरिएको छ ।
नगरसभामा उपप्रमुख पवित्रा महतारा प्रसाईले कतिपय गतवर्षका योजनाका निरन्तरता र केही नयाँ योजनाका साथ ८० करोड १७ लाख ७८ हजारको बजेट पेश गरेकी हुन् ।
नगरसभालाई सम्बोधन गर्दे वडा नं ३ का अध्यक्ष तथा नेपाली काँग्रेस नगर सभापति भोजराज सिटौलाले नगरका विकासका योजनामा राजनीति नगर्ने र विकासका काममा एक भएर लाग्ने प्रतिवद्धता जनाए ।
Comments