Sajhamanch Archive

मनकामनामा कानून संकाय थपियो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड १ स्थित मनकामना माद्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ र १२ मा कानून विषयको पठनपाठन सुरु गरेको छ । ‘मनकामना स्कूल अफ ल’ को नामबाट ७०० पूर्णाङ्कको पठनपाठन हुने भएको हो ।

‘एजुकेशन फर कल्चर एण्ड डिग्निटी’ लाई मूल मन्त्र बनाएर बिर्तामोडमा २० वर्षदेखि छुट्टै विशेषताका साथ शैक्षिक सेवा प्रवाह गरिरहेको मनकामनाले कक्षा ११ र १२ मा कानून संकायका विषय अध्यापनको अनुमति पाएको हो ।

आज क्याम्पस प्रशासनले पत्रकार सम्मेलन गरी यसै शैक्षिक सत्रबाट ‘मनकामना स्कूल अफ ल’ सञ्चालनको तयारीमा जुटेको बताएको हो । शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल प्रेमप्रसाद भट्टराईले कक्षा ११–१२ मा कानूनसँगै ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेन्ट विषय पनि थप गरिएको जानकारी दिए ।

‘त्रिविविले प्रविणता प्रमाणपत्र तह हटाएपछि पछिल्लो एक दशकदेखि कानूनको आधारभूत ज्ञानप्राप्त गर्न चाहने विद्यार्थीहरु सो अवसरबाट बञ्चित रहेकोमा मनकामना माविले यो वर्षबाट यस्तो अवसर जुराएको हो’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।

सो अवसरमा शैक्षणिक कोअर्डिनेटर कुमार थपलियाले उक्त तीनवटै विषयमा ४०–४० जनाको मात्र विद्यार्थी भर्नाको कोटा निर्धारण गरिएकाले अन्य विषयको पठनपाठनमा भन्दा यसमा शैक्षिक प्रणाली पनि पृथक हुने सुनाए । पत्रकार सम्मेलनमा उठाइएका कानून विषयका जिज्ञासाहरु माथि प्राध्यापक सुधिर सुवेदीले थप प्रष्ट पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *