Sajhamanch Archive

झापा कारागार सुरक्षार्थ खटिएका प्रहरीबाट महिलामाथि दुव्र्यवहार ! ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । झापा कारागारको सुरक्षार्थ खटिएका प्रहरी पदीय आचरण विपरित महिला हिंसामा लाग्ने गरेको पाइएको छ । कैदीबन्दी भेट्न आउने महिलाहरूलाई कारागार सुरक्षार्थ खटिएका प्रहरीले यौनिक हिंसात्मक नजरले हेरेर पीडा थप्ने काम गरेको आरोप लागेको हो । चन्द्रगढीस्थित झापा कारागारमा थुनुवा तथा कैद भुक्तान गरिरहेका व्यक्तिलाई भेट्न आउने आफन्त युवती तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने गरेको पीडित महिलाहरूको आरोप छ ।

कारागारमा खटिएका आचार्य थरका सईले आवतजावत गर्ने महिलाहरुलाई रोकेर अनेकथरी विवरण सोधेर सम्पर्क नम्बरसमेत लिने गरेको पीडित महिलाहरूको आरोप छ । कारागारको मुख्य प्रवेशद्वारमा नाम दर्ता गराउँदा मोवाइल नम्बर र नाम उल्लेख गर्ने नियम छ । सोही विवरणको आधारमा महिलाहरुलाई बारम्बार फोन गरेर अनावश्यक कुरा गरी मानसिक पीडा दिने गरेको पीडित महिलाहरूले गुनासो गरेका हुन् । जेलमा श्रीमान छ भन्दैमा हामीमाथि प्रहरीले गलत नजरले हेर्ने, संवेदनशील अङ्गमा हेर्ने जस्ता दूव्र्यवहार प्रहरीबाट हुने गरेको ती महिलाहरुको गुनासो छ ।

जेलमा रहेका श्रीमानलाई खाना लगायत अन्य कानूनले दिने सामग्री लिएर जाँदा गुणस्तरीय सामान प्रहरीले झिक्ने गरेको उनीहरुको गुनासो छ । फेरि आउँदा मेरो लागि पनि सामान लिएर आउनु भन्दै जिस्क्याउने गरेको बन्दी भेट्न आउने आफन्तहरूको भनाई छ । सुरू–सुरूमा राम्रै कुराहरू सोध्नु हुन्थ्यो, म पनि भन्थें, श्रीमानलाई अप्ठ्यारो परेमा सहयोग गर्दिनु हैजस्ता गफ हुन्थे, पछि त सईसाबले उल्टै आफूलाई गलत नजरले हेर्न थालेको पीडित एक महिलाको भनाई छ ।

केही दिन अघि यादव थरका हवल्दार मार्फत एनसेल नम्बरबाट कल गर्न लगाएर सईसाबले तपाइँसँग भेटेर बिर्तामोड डुल्न जाउँ भनेको उनको भनाई छ । त्यस्तो कुरा गरेपछि आइन्दादेखि मलाई फोन नगर्नु भनेर हवल्दारलाई सम्झाएको ती महिलाले बताइन् । सईले जिस्क्याएको कुरा श्रीमानलाई पनि जानकारी गराएको महिलाले बताएकी छन् । हवल्दारको कुरा सईलाई जानकारी गराउँदासमेत वास्ता नगरेकोले यो सबै सई आचार्यकै करतुत भएको ती महिलाहरुको भनाई छ ।

कारागारका सुरक्षाकर्मीको कार्यशैली र व्यवहारले महिलामाथि डर र त्रास छाएको जनाइएको छ । सईको व्यवहार दुवैतर्फका चौकीदार, जेलरलाई समेत जानकारी छ । तर, कारागार प्रशासनले सुरक्षाकर्मीको आचरण सुधार्न प्रयास नगरेको पीडितहरू बताउने गर्छन् ।

‘नानी कति छन् ? सिजर हो कि नर्मल ? तपाइँसँग गफ गर्न मन लागिरहन्छ’ सई आचार्यको फोन सम्वाद सुनाउँदै एक महिलाले भनिन् यो कुरा बाहिर आएमा जे सुकै पनि हुनसक्ने भन्दै आतङ्कित बनाइएको छ । सई कै कारण कारागारमा आफन्त भेट्न जान पनि तनाव भएको पिडित महिलाहरू बताउँछन् ।

तर माथि भनिएकै जसरी महिलाहरुले लगाएको आरोप सर्वथा गलत भएको सई आर्चायको दावी छ । आफूले कसैमाथि त्यस्तो नकारात्मक व्यवहार नगरेको भन्दै सई आचार्यले कुनै गुनासो भए प्रहरीसँग भन्नु पर्नेमा बाहिर गएर चर्चा गरेकाले यसमा कुनै सत्यता नभएको उनको भनाई छ ।

कारागारमा प्रहरीले गरेको अभद्र कार्यशैली र उनीहरुमाथि महिलाले लगाएको आरोपका बारेमा आफूलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले दाबी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *