नाइट चेस क्लबमा कार्कीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व
Published:
by .काँकरभिट्टा । यहाँस्थित चर्चित सामाजिक संस्था नाइट चेस क्लबको १३औं अधिवेशनबाट राजु कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
संस्थाको प्रथम उपाध्यक्ष रहेका कार्कीको नेतृत्वमा कार्यसमिति चयन गर्ने सहमति भएको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र बुढाथोकी, द्वितिय उपाध्यक्षमा बाबुराम विष्ट, महासचिवमा अशोक राई, सचिवमा विमला देवकोटा तथा कोषाध्यक्षमा मणिकुमार लिम्बू सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा वसन्त श्रेष्ठ, विजय सुवेदी, विकास थापा मगर, रेणु तिवारी र मीना पौडेल सर्वसम्मत चुनिएका छन् ।
२०५४ सालमा स्थापना भएको क्लब पछिल्लो समय सुस्ताएको छ । स्थापनाकालदेखि काँग्रेस निकटहरुले नेतृत्व गर्दै आएको क्लब सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका प्रवाह गर्दै आएको छ । तर, एकल रुपमा नेतृत्व सम्हाल्दै आएको भन्दै नेकपा निकट क्लबका सदस्यहरुले चौतर्फी विरोध जनाउँदै आएका थिए ।
नवनिर्वाचित अध्यक्ष कार्की क्लबको दुई कार्यकाल सचिवको भूमिका पूरा गर्दै प्रथम उपाध्यक्षको जिम्मेवारीसमेत कुशलपूर्वक सम्पन्न गरेका थिए । शनिबार क्लबको अध्यक्षमा निर्वाचित भएपछि कार्कीले भने क्लबमा रहेर लामो समयसम्म कार्यसम्पादनसँगै अनुभवलाई अबको कार्यकालमा अझ सशक्त ढंगबाट अघि बढाउन पहल गर्नेछु ।
कार्यसमितिमा निर्वाचित सबै साथीहरुसँग सहकार्यबाट क्लबको उन्नति प्रगति र उद्देश्य प्राप्तिका लागि सहकार्य, समन्वय गरेर अघि बढ्नेछु । उनले भने– साझा सहमतिबाट मेरो नेतृत्वप्रति विश्वास गर्नुहुने पूर्व अध्यक्षहरु राजनीतिक दल, सामाजिक व्यक्तित्व, संस्थाका शुभचिन्तक र क्लबका सम्पूर्ण सदस्यहरुप्रतिको विश्वासलाई उच्च सम्मानका साथ क्लबको कदलाई उच्च राख्ने कार्यमा कुनै कमजोरी हुन दिन्न ।
Comments