Sajhamanch Archive

बिर्ताबजारका सडक बिस्तार पिडीतहरु क्षतिपूर्ती बुझ्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । निर्माणाधिन बिर्तामोड–चन्द्रगढी सडकको बिर्ताबजार खण्डमा सडक सीमाभित्र परेर घर भत्काएका थप सातजना घरधनीहरुले आज क्षतिपूर्ति पाएका छन् ।

सडक सीमाभित्र घर टहरा परेकाले आफैं भत्काउने ७ जना घरधनीहरुले दोस्रो चरणमा एक करोड ३२ लाख ७३ हजार ७६३ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । यसअघि पहिलो चरणमा ६ जनाले ४४ लाख ७ हजार ५७२ रुपैयाँ क्षतिपूर्ति पाएका थिए ।

दोस्रो चरणमा क्षतिपूर्ति पाउने घरधनीहरुमा भीम आचार्यले १३ लाख ६६ हजार २०० रुपैयाँ, रामाशंकर साहले ३२ लाख ६५ हजार ५६८ रुपैयाँ र मुकुन्द पौडेलले २६ लाख ९८ हजार ७४० रुपैयाँको चेक ग्रहण गरेका छन् ।

यस्तै, सुदेश प्रधानले ७ लाख ६८ हजार ५१५ रुपैयाँ, रामकुमारी साहले २४ लाख ८४ हजार ९९६ रुपैयाँ, बिष्णुप्रसाद उप्रेतीले २२ लाख ८६ हजार ९४४ रुपैयाँ र हेमनारायण राजवंशीले ४ लाख २ हजार ८०० रुपैयाँको चेक ग्रहण गरेका हुन् ।

गत जेठ २ गतेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्माणाधिन बिर्तामोड–चन्द्रगढी सहायक राजमार्गको बिर्ताबजार खण्डका सडक सीमाभित्र परेका जग्गामा बनेका स्थायी वा अस्थायी घरटहरा तथा अन्य संरचनाहरुको क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

सो सडकको सीमाभित्र २९ जनाको घर परेको छ । उनीहरुलाई ३ करोड १ लाख ५४ हजार ५६८ रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको छ ।

सो विषयबारे जानकारी गराउदै सडक डिभिजन कार्यालय दमकका लेखापाल दिलबहादुर श्रेष्ठले पूर्णरुपमा घरटहरा भत्काउने आजसमेत गरी १३ घर परिवारलाई चेक हस्तान्तरण गरिएको बताउँदै अन्यलाई घर टहरा भत्काए पछि क्रमशः क्षतिपूर्ति दिइने सरकारको नीति रहेको बताए ।

बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयमा भएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य एकराज कार्कीले राज्यले उचित मूल्याङ्कन गरेर घर धनीहरुलाई क्षतिपूर्ति दिएको बताए ।

बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाकोे अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी लगायतले क्षतिपूर्ति वापतको चेक हस्तान्तरण गरेका पत्रकार इन्द्रसिंह राजवंशीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *