झापाका छात्राहरुलाई आत्मरक्षा अभिमुखीकरण
Published:
by .काँकरभिट्टा । शारीरिक रुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्देश्यले छात्राहरुका लागि आत्मरक्षा सम्बन्धी अभिमुखीकरण तालिम बिहीबारदेखि सुरु भएको छ ।
‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल उद्घोषसहित काँकरभिट्टामा सो तालिम सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत सञ्चालित तालिमको उद्घाटन प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले गरिदिएका हुन् ।
जिल्ला खेलकुद विकास समिति झापाको समन्वय तथा व्यवस्थापनमा सुरु भएको दुई दिने तालिमको उद्घाटन पछि सांसद् बुढाथोकीले महिला स्वयम्ले आफ्नो सुरक्षा गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
तालिमको उद्घाटन सत्रमा नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापालले शारीरिक रुपमा महिलालाई हुनसक्ने हिंसात्मक घटनाबाट जोगिने उपाय सिकाउन तालिम सुरु गरिएको बताए ।
सो अवसरमा १०औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएका झापा जिल्लाका ११० वटा सामुदायिक र संस्थागत विद्यालयलाई खेल सामाग्री खरिद तथा प्रोत्साहन स्वरुप प्रति विद्यालय १० हजार रुपैयाँका दरले रकम पनि वितरण गरिएको थियो ।
त्यसक्रममा सगरमाथा मल्टी मार्सल आर्टका अध्यक्ष दीपक धिमाल र शारीरिक सुगठन प्रतियोगितामा मिस्टर पूर्वाञ्चलको उपाधि विजेता तुलबहादूर श्रेष्ठलाई सम्मान पनि गरिएको छ ।
अभिमुखीकरण तालिममा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत् ३०० भन्दा बढी छात्राहरुले भाग लिएका संघका जिल्ला उपाध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए ।
एक विद्यालय बराबर ३ जना छात्रा सहभागी तालिमको सहजीकरण नेपाल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, क्षेत्रीय प्रशिक्षक शिला श्रेष्ठ, प्रकाश बस्नेत र पिंकी वर्मनले गरिरहेका छन् ।
प्रशिक्षार्थीहरुलाई आत्मरक्षा सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइने तालिमका प्रमुख प्रशिक्षक बस्नेतले जानकारी दिए ।
Comments