टी–ट्वीन्ट सिरिजमा नेपालले मलेसियालाई हरायो
Published: (Updated: )
by .क्वालालम्पुर । मलेसियाविरुद्ध टी–ट्वीन्ट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले ७ विकेटले जीत हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई उसैको मैदानमा हराएको हो ।
मलेसियाको किनरारा मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य पाएको नेपालले १८.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
५० बलमा ८६ रन बनाएका पारसले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी सरद भेषवाकरले १६ रनको योगदान गरे । प्रदीप ऐरीले ८ ज्ञानेन्द्र मल्ले ७ रोहितकुमार पौडेलले ५ रन जोडे ।
मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए । फित्री सामले १ विकेट लिए ।
नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।
नेपालले यही जुलाई २० देखि सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्दैछ । सोही प्रतियोगिता अगाडि अभ्यासका लागि नेपालले मलेसियासँग दुई टी–ट्वन्टी प्रतियोगिता खेल्न लागेको हो ।
नेपालले सोही मैदानमा आइतबार अर्को खेल खेल्दैछ । यस प्रतियोगिता खेलेर नेपाल उतैबाट एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्न सिंगापुर जानेछ ।
Comments