काँकरभिट्टामा खुल्ला तथा विद्यालयस्तरीय कवि गोष्ठी सम्पन्न
Published: (Updated: )
by .मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एकै ठाउँमा मर्ज भएपछि पहिलो पटक भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम शुरु भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्म जयन्तीका अवसरमा शनिबार झापाको मेचीनगरमा प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको वृहत साहित्य गोष्ठी सम्पन्न गरेको हो । प्रतिष्ठानले तीन दिन भानु जयन्ती मनाउने निर्णय अनुसार आज कविगोष्ठी आयोजना गरेको हो ।
काँकरभिट्टा क्याम्पस परिसरमा सम्पन्न कवि गोष्ठीमा स्वदेश एवम् विदेशका दुई दर्जनभन्दा बढी स्रष्टाले आ–आफ्ना रचना पाठ गरेका थिए । कवि गोष्ठीका प्रथम, दोस्रो, तेस्रो तथा सान्तवना हुने स्रष्टाहरुले क्रमश नगद १० हजार, ७ हजार, ५ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उनीहरुको नाम आइतबार भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा घोषणा गरिने छ ।
साहित्यकार विनोदराज खनालको नेतृत्वमा गठित तीन सदस्यीय निर्णायक मण्डलीले स्रष्टाका सिर्जना र प्रस्तुतिको मूल्याङ्कनको जिम्मा पाएको छ । भाषाविद एवम् वरिष्ठ साहित्यकार चूडामणि रेग्मी तथा अग्रज साहित्यकार सरोज ओलीको उपस्थितिमा कवि गोष्ठी सम्पन्न गरिएको हो ।
यसैगरी प्रतिष्ठानले मेचीनगर क्षेत्रभित्रका माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता गोष्ठी पनि सम्पन्न गरेको छ । गोष्ठीमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ती प्रतियोगीहरुको नाम पनि भोलि आइतबार नै सार्वजनिक गरिने बताइएको छ ।
भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार जय आचार्यले गरेका थिए ।
Comments