‘सहकारी ऐन २०७४ मा संशोधनको तयारी गरिँदै’ : महासंघ अध्यक्ष बडाल
Published:
by .एनएमसीको नयाँ नेतृत्वलाई सपथसहित पदभार हस्तान्तरण
झापा । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद वडालले सहकारी ऐेन २०७४ संशोधनको आवश्यकता देखिएकाले सोको तयारीमा रहेको बताएका छन् । व्यवस्थापिका संसदबाट सहकारीकर्मीहरुले सोचेअनुुसारको ऐन बनाउन नसकिएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता खड्किएको अध्यक्ष बडालले बताएका हुन् ।
आइतबार झापाको बिर्तामोडमा आयोजित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रममा प्रमुख अतिथि रहेका बडालले सहकारी ऐनमा कतिपय कुरा छुटेकाले सच्याउनका लागि संशोधन गर्न सकिने विचार राखे । पुर्र्व मन्त्रीसमेत रहेका बडालले सहकारी मन्त्रालयसँग यस विषयमा छलफल भइरहेकाले देशभरका सहकारीकर्मीहरुसँग परामर्श गरी के के संशोधन गर्ने भन्ने विषयमा महासंघ लागिपरेको तथा सुझाव संकलन भइरहेको जानकारी दिए ।
सहकारी महासंघका अध्यक्ष बडालले २०४८ को सहकारी ऐनले सहकारी जागरण ल्याएको भन्दै जहाँ बढी सहकारी संस्था छन् त्यहाँ विभेद कम हुने स्पष्ट पारे । जात, वर्ग, धर्म, लिङ्ग, संस्कृतिका आधारमा विभेद गर्ने मान्छे कहिल्यै पनि सहकारीकर्मी हुन नसक्ने बडालको भनाई छ ।
दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीको मूल्य, मान्यता गाँसिएकाले सो लक्ष्य प्राप्तीका लागि देशका सबै सहकारीहरुको भूमिका उल्लेखनीय हुनुपर्ने अध्यक्ष बडालले औंल्याए । एनएमसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफूलाई परिचित गराउँदै सबल र सक्षम सहकारीकारुपमा स्थापित गर्न सफल भएकाले धेरै सहकारीका लागि यो उदाहरणीय संस्था भएको पनि बडालले बताए ।
महासंघका अध्यक्ष बडालको उपस्थितिमा एनएमसीको आगामी ४ वर्षे कार्यकालका लागि १५ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको नवनिर्वाचित टिमलाई पदहस्तान्तरण तथा सपथग्रहण गराइएको हो । निर्वाचन समितिका संयोजक सांसद हरिचरण शिवाकोटीले निर्विरोध निर्वाचित १५ जना सञ्चालक र ३ जना लेखा सुपरीवेक्षण समितिका सदस्य पदाधिकारीहरुको नामावली घोषणासँगै उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । नवनिर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी साउन १ गतेदेखि सुरु हुनेछ ।
पदस्थापन कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो प्रतिवद्घता मन्तव्य राखेका थिए । सो अवसरमा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कमलबहादुर वस्नेत, सतासी बहुमुखी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, निवर्तमान सञ्चालक केशवप्रसाद पोखरेल र शुभलक्ष्मी राईले संस्थाको नयाँ नेतृत्वलाई बधाईसहित कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका निवर्तमान उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सदस्थापन कार्यक्रममा सहभागी सबैलाई निर्वाचन समितिका सदस्य लोकराज ढकालले शब्दद्वारा स्वागत गरेका थिए ।
Comments