साउने संक्रान्ति पर्वसँगै शिवालयहरुमा मेला सुरु
Published:
by .झापा । आज साउन १ गते, देशभर साउने संक्रान्ति पर्व मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
कृषि प्रधान देशमा मानो खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ ।
असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिनलाई लुतो फाल्ने दिनका रुपमासमेत लिने चलन छ । कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो बाली प्रतिकात्मक रुपमा लुतो फयाँक्ने गरिन्छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
आजबाट सुरु भएको साउन महिनाभर शिवको पूजा आराधना गर्ने परम्परा छ । भक्तालुले विशेषगरी साउने सोमबार ब्रत बस्ने र शिव मन्दिरमा पूजाआजा गर्ने गर्दछन् ।
देशभरका शिवालयहरु काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, झापाको अर्जुनधारा जलेश्वरधामलगायत विभिन्न शिवालयमा आजबाट महिना दिने मेला पनि शुरु भएको छ ।
Comments