झापाको कचनकवलमा ४७ करोड ६० लाख बजेट, कक्षा १२ सम्म निशुल्क शिक्षा
Published:
by .कचनकवल । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट प्रस्तुत गरेको छ ।
प्रस्तावित बजेटमा आन्तरिक स्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजश्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार रुपैयाँको आय अनुमान गरिएको छ । यस्तै, शसर्त अनुदान १६ करोड ३४ लाख, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत एक करोड, पूर्वाधार विकास कार्यक्रम २ करोड ५० लाख र अन्य २ करोड ९८ लाख ५५ हजारसहित ४७ करोड ६० लाखको बजेट प्रस्तुत गरिएको हो ।
गाउँपालिकाका प्रमुख अञ्जार आलमको अध्यक्षता तथा संघीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा बजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा बजेट प्रस्तुत गर्दै आलमले कक्षा १२ सम्म सबै विद्यार्थीलाई निःशुल्क शिक्षाको घोषणा गरे । उनले छात्राहरूलाई क्याम्पस तहमा पनि निःशुल्क शिक्षाको व्यवस्था गरिएको जानकारी दिए ।
गाउँपालिकाका प्रमुख आलमले प्रत्येक वडाका एक एक विद्यालयमा नमूना बाल कक्षा सञ्चालन गर्ने, सवै माध्यमिक विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने र अंग्रेजी माध्यमबाट गरिने पठनपाठनलाई प्राथमिकता प्रदान दिने पनि घोषणा गरे । यस्तै प्राथमिक स्वास्थ्य चौकी बनियानीमा मृगौला रोगीहरूका लागि डायलासिस सेवा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
कृषि उत्पादन बढाउन खेत बा“झो नराख्ने शर्तमा कृषहरुलाई मोटर वोरिंग, मल विउ र औजार वितरणको व्यवस्था मिलाइने, माछापालन र अर्गानिक तरकारी खेतीमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था मिलाइनेजस्ता रचनात्मक अभ्यासका लागि कचनकवल अग्रसर देखिएको छ । आज प्रस्तुत बजेटमा बेरोजगार युवा लक्षित तालिम केन्द्र र स्वरोजगार कोषको स्थापना गर्ने, सीप भएका र तालिम केन्द्र मार्फत सीप सिकेका युवाहरुलाई साना घरेलु, कुटीर उद्योग र व्यवसाय संचालनका लागि अनुदान तथा ऋणको व्यवस्था मिलाउने उल्लेख छ ।
स्थानीय ३०० जनाभन्दा बढीलाई रोजगार प्रदान गर्ने वातावरण मैत्री रोजगारमूलक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर छुट दिने र विजुली, बाटोलगायतका पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने, भौतिक पूर्वाधार विकास, लक्षित वर्ग उत्थान, आवश्यकताका आधारमा विनियोजित लक्ष्यसहितको बजेट प्रस्तुत गरिएको छ ।
Comments