मुख्यमन्त्री कप लिग प्रतियोगिताको च्याम्पियन टिमलाई सम्मान
Published:
by .बिर्तामोड । मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको सैनिक युथ क्लबका खेलाडीलाई बिर्तामोड नगरपालिका वडा नं. १० ले सम्मान गरेको छ । उपाधिसँगै सैनिक युथ क्बलले पाँच लाख रुपैयाँ नगद र शिल्ड प्राप्त गरेको थियो ।
वडा कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच फुटबलको क्षेत्रमा प्रदेश नं. १ कै उत्कृष्ट भएर उपाधि जित्न सफल सैनिक युथ क्लबलाई गृह वडामा सम्मान गरिएको हो । जनप्रतिनिधि उपस्थित खेलप्रेमीहरुले खादाका साथै अविर लगाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व फुटबल खेलाडी रामदर्शन गुरुङले सैनिक फुटबलका लागि उर्वर भूमि भएको बताउँदै खेलमा अनुशासनका साथै समाजलाई पनि अघि बढाउन भूमिका खेल्न सुझाव दिएका छन् ।
कार्यक्रममा टिम कोच प्रवेश कट्वालले खेलाडीले अनुशासनमा रहेर मेहनतका साथ खेल खेलेकै कारण उपाधि जित्न सम्भव भएको बताउँदै आर्थिक अभाव झेल्नु नपरे क्लबले राम्रो खेल खेल्न सक्ने धारणा राखे ।
वडाध्यक्ष दुर्योधन गुरुङले सैनिक युथ क्लबले प्रदेश १ स्तरिय उपाधि हात पार्नु झापा जिल्ला साथै बिर्तामोड १० को गौरवको कुरा भएको फुटबलको विकासका लागि वडाका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वडा कार्यालयको आयोजनामा भएको सम्मान कार्यक्रम वडाध्यक्ष दूर्योधन गुरुङको अध्यक्षतामा भएको थियो । खेलाडी सम्मान कार्यक्रममा बिर्तामोड नगर कार्यपालिका सदस्य गीता घिमिरेले शब्द स्वागत गरेकी थिइन् भने सञ्चालन दिपिका शिवाले गरेकी हुन् ।
Comments