Sajhamanch Archive

झापाका उद्योगी व्यवसायी अन्यौल मै !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनमा व्यवहारिक कठिनाई देखा परेको भन्दै झापाका उद्योगी व्यवसायीले निकास खोजिदिन सरकार समक्ष सुझाव राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आइतबार भद्रपुरमा भएको श्रम नीति तथा ऐन कानून विषयक छलफल गोष्ठीमा सहभागी उद्योगीहरुले के गर्ने के नगर्ने भन्दै अन्यौल दर्शाएका हुन् ।

अधिकांश उद्योगमा दीर्घकालिनभन्दा पनि अल्पकालिन कामदारहरु कार्यरत रहेकोले सामाजिक सुरक्षा र श्रम ऐन कसरी लागू गर्ने भन्ने विषयमा ठोस कुरा बाहिर आउनु पर्ने धारणा राखेका थिए ।

कामदार तथा कर्मचारीले सेवा सुविधा पाउने हो भने लगानीकर्ताको सामाजिक सुरक्षा कसले गर्ने भन्ने जिज्ञासा उद्योगी सुरेसकुमार अग्रवालले राखे । नेपालीभन्दा पनि भारतीय कामदार बढी हुने र केही उद्योगहरु वर्षमा ६ महिनामात्र सञ्चालनमा रहनेको हकमा के गर्ने भन्दै अग्रवालले सरकारसँग जवाफ मागे ।

कामदारको मात्र सेवा सुविधामा चासो लिने सरकारले उनीहरुको कामको अवस्था कस्तो छ भन्ने विषयमा कहिल्यै अनुगमन नभएको अर्का उद्योगी अरबिन्द अग्रवालले बताए । कामदारले हाजिर गरेपछि ज्याला दिनुपर्ने तर, काम भनेजस्तो ननिकाल्ने समस्या उद्योगीले भोग्दै आएको उनले तर्क गरे ।

श्रम सङ्गठनका मरामर्शदाता प्रज्वल जोशी, महानिर्देशक हंसराज पाण्डे, श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख दुर्गाप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।

झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकालको अध्यक्षता तथा महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

केही दिन अघि यसै विषयलाई लिएर उद्योगीहरुले सरकारलाई ज्ञापन पत्र पठाइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *