Sajhamanch Archive

उत्तर कोरिया अचानक बन्यो आक्रामक, दुई क्षेप्यास्त्र परीक्षण

Published: in विविधा, विश्व समाचार by .

प्योङयाङ। क्षेत्रीय स्तरमा सैन्य तनाव बढिरहेको समयमा उत्तर कोरिया अचानक आक्रामक रुपमा देखा परेको छ ।

उत्तर कोरियाले बिहीबार बिहानै दुई साना दुरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण भएको पुष्टि गरेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले तटीय क्षेत्रबाट समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाद्वारा परीक्षण गरिएका ती क्षेप्यास्त्र करिब ३०० माइलको दुरीमा मार हान्न सक्ने क्षमताको रहेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी अधिकारीले पनि उत्तर कोरियाद्वारा भएको क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका छन् । तर, दक्षिण कोरिया र अमेरिकाले ती क्षेप्यास्त्रको बारेमा विस्तृत विवरण पाउन नसकेको बताएका छन् । दुवै मुलुकले ती क्षेप्यास्त्रबारे विस्तृत अध्ययन भइरहेको जनाएका छन् ।

अमेरिकासँग वार्ता भएपछि उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई चरणमा भएको वार्ता अपेक्षाअनुसार सफल भने हुन सकेको थिएन । केही साता अघि ट्रम्प दुई कोरियाबीचको सीमा क्षेत्रमा पुगेर उत्तर कोरियाली नेतासँग भेटसमेत गरेका थिए ।

समाचार एजेन्सीका अनुसार उत्तर कोरियाली नेता किम हालै एउटा पनडुब्बी निरीक्षण गरिरहेको तस्वीर प्रकाशमा आएको छ । आधुनिक प्रविधिअनुसार निर्माण भइरहेको उक्त पनडुब्बीलाई उत्तर कोरियाले आणविक हतियारसहित समुद्रमा उतार्ने तयारी गरिरहेको अनुमान गरिँदैछ ।

रुस र चीनले दक्षिण कोरिया नजिकैको समुद्री क्षेत्रमा हवाई सैन्य अभ्यास गरिरहेको समयमा दक्षिण कोरिया आक्रामक देखिएको छ । यही समयमा उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिएको घटना सार्वजनिक भएको हो ।

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *