हनुमान सेन्ट्रल आगलागी घटनाः केही दिन कम्प्लेक्स बन्द हुने !
Published:
by .बिर्तामोड । बिर्तामोडको ठूलो व्यवसायिक प्रतिष्ठान हनुमान सेन्ट«लको जुत्ता पसलमा शनिबार साँझ आगलागी भएकाले आजदेखि केही दिन सो प्रतिष्ठान बन्द गरिने भएको छ ।
आजै बिहान बिर्तामोडमा भएको बैठकले त्यहाँ उत्पन्न हुन सक्ने परिस्थिति समाधान गर्न सरोकारवालाको नेतृत्वमा समिति पनि गठन गरिएको छ । छलफलपछि आगलागीको कारण खोजीगर्ने, क्षतिको अध्ययन गर्ने र कम्प्लेक्समा भएको क्षतिको विवरण संकलन गर्ने गरी समिति गठन भएको हो ।
समितिमा हनुमान सेन्टरका सञ्चालक रमेश सरिया, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी रहेका छन् । यस्तै समितिमा हनुमान सेन्टर व्यवसायी समितिका प्रतिनिधि, आगलागी भएको इर्की शोरुमका पसलका सञ्चालक दिनेश पाठक, इप्रका अनारमनीका प्रतिनिधि, नेकपा र कांग्रेस बिर्तामोडका प्रमुख रहेको वडाध्यक्ष संग्रौलाले जनाएका छन् ।
समिति निर्माण पछि आगलागी स्थलको अनुगमन गरेका छन् । आगलागी भएको इर्कीको सोरुमसँगै क्षति भएको अन्य पसलको समेत अनुगमन गरिएको छ । समितिको उपस्थितिमा इलाका प्रहरी कार्यालय अनारमनीले घटनास्थलको मुचुल्का उठाएको छ ।
आगलागीबाट पाठकले ६० लाख लगानीमा सञ्चालन गरेको जुत्ताको सोरुम पूर्ण रुपमा क्षति भएको जनाइएको छ । नजिकै रहेका दुईवटा पसलमा र आगलागी भएको कोठाको ठिक माथिल्लो तलामा समेत क्षति पुगेको बताइएको छ ।
आगलागीबाट धेरै क्षति भएको इर्कीको शोरुमको बीमा नरहेको बुझिएको छ । तर छेउमा रहेको अर्को जुत्ता पसल र सामसुङको पसलले बीमा गरेको जनाइएको छ ।
आज गठित समितिले सोमबार बिहान ९ बजे अर्को बैठक बसेर प्रक्रिया अघि बढाउने बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् ।
अहिले हनुमान कम्प्लेक्स बन्द रहेको छ । प्रायः सबै पसलमा धुँवा गन्हाएकाले केही व्यवसायी सरसफाइमा जुटेका छन् । समितिका अनुसार आज सुरक्षाकर्मीले मुचुल्का उठाइसकेपछि सरसफाई थालिनेछ । आगलागीबाट भएको अस्तव्यस्त समाधान गरेर मात्र बजार खोल्ने बताइएको छ ।
तस्वीरः इजलास
Comments